
डोटी : बुडरमा रहेको हेल्थ डेस्कमा स्थानीयले लगाएको ताला १२ घण्टापछि खुलेको छ । हेल्थ डेस्कमा बिरामी जाँदा सिलिन्डर उपलब्ध नभएपछि स्थानीयले गए राती तालाबन्दी गरेका थिए । जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख डिल्ली रमण जोशी उपस्थितिमा जोरायल गाउँपालिका–२ का वडा सदस्य दीपक साउदको अध्यक्षतामा सरोकारवाला निकाय, स्थानीय राजनितीक दलका प्रतिनिधि र प्रहरी प्रशासन बिच सहमति भएपछि स्थानीयले ताला खोलेको स्थानीय किरण मल्लले बताए ।

साथै हेल्थडेस्कलाइ स्तर उन्नति गरी ट्रमा सेन्टरका लागी गाउँपालिका, प्रदेश र सङ्घ सरकारसँग माग गर्ने र १५ बेडको बनाउन पहल गर्ने कुरामा पनि सहमति भएको छ । स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख जोशीले हेल्थ डेस्कलाई २ ओटा सिलिन्डर ग्यास उपलब्ध गराएका छन् ।
कोरोनाको कहर सँगै डोटीको बुडरमा आपतकालिन रूपमा सेवा दिनका लागी हेल्थ डेस्क स्थापना गरिएको थियो ।
