
डोटीको सायल गाउँपालिका वडा नम्बर १ को कौराडी स्वास्थ्य इकाई र वडा नम्बर एककै छपालिमा रहेको स्वास्थ्य केन्द्रको बाहिरी गेटमा लगाइएको ताला सोमवार पनि खुलेन । कौराडी स्वास्थ्य इकाईमा तालाबन्दी गरिएको ६ दिन र स्वास्थ्य केन्द्रको बाहिरी गेटमा ताला लगाइएको ४ दिन भैसकेको छ । आज ताला खोल्ने प्रयास गरिएको भए पनि आन्दोलित कर्मचारीले ताला खोल्न दिएनन् ।
ताला खोल्न इलाका प्रहरी कार्यालय मौवा नगर दहका प्रहरीको साथमा गाउँ कार्यपालिका सदस्य स्वास्थ्य इकाई केन्द्र पुगेका थिए । आन्दोलित करारका कर्मचारीले भने गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले आफूहरूसँग छलफल नगरेसम्म ताला नखोल्ने अडान कायम राखेका छन् ।

करार तथा ज्यालादारीका कर्मचारीको करार अवधि नवीकरण नगर्ने गाउँपालिकाको निर्णय विरुद्ध कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । गाउँ कार्यपालिकाको बैठकले गत असार ३१ गते उक्त निर्णय गरेको थियो । स्वास्थ्य इकाई मा तालाबन्दी गरिएपछि इकाई बाट प्रदान हुने सेवा प्रभावित हुँदा स्थानीय सेवाग्राही मर्कामा परेका छन् ।
आजको ताला खोल्ने प्रयास असफल भएपछि आन्दोलित कर्मचारीसँग छलफल गर्न गाउँपालिका अध्यक्ष सहमत भएका छन् ।
