
किरण धामी, डोटी
डोटीका सात पालिकाले हलियाका सवालमा नीतिगत व्यवस्थापनका लागि नीति कार्यक्रम निर्माण गरी हलिया पुनर्स्थापना कार्यविधि निर्माणका गर्ने प्रतिबद्धता जनाएका छन् । सोमवार सिलगढीमा सम्पन्न भएको एक दिने मुक्त हलियाका माग तथा मुद्दा विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा जिल्लाका आदर्श र बडिकेदार गाउँपालिका बाहेकका पालिकाले उक्त प्रतिबद्धता जनाएका हुन् ।
एक्सन एड नेपालको सहकार्य र जिल्ला समन्वय समिति डोटीको समन्वयमा सम विकास केन्द्र (इडिसी) नेपाल तथा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घको संयुक्त आयोजनामा सिलगढी स्थित परिवार नियोजन सङ्घको हलमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । १४ औँ हलिया मुक्ति दिवको पुर्वशन्ध्यामा ७ ओटा स्थानीय तह, नागरिक समाज, पत्रकार लगायतका सरोकारवालसँग अन्तरक्रिया कार्यक्रम गरिएको सम विकास केन्द्र नेपालका अध्यक्ष अधिराज बिसीले बताए ।

कार्यक्रममा बोल्दै शिखर नगरपालिकाका प्रमुख दीर्घ बहादुर बलायरले राज्यको त्रृटीकै कारण हलियाका नाममा आएको रकम फ्रिज जाने गरेको बताए । उनले भने, आर्थिक वर्षको अन्त्यमा रकम आउँछ, न कुनै मापदण्ड छ न कुनै नीति कसरी खर्च हुन्छ रु साथै हलिया छनोटकर्ता निष्पक्ष हुनुपर्ने उनको भनाई थियो । हलिया पुनर्स्थापनाका लागि नीति निर्माण गरेर अगाडी बढ्नु पर्ने सायल गाउँपालिका गाउँ कार्यपालिका सदस्य डम्बर विकले बताए । जसको लागि प्रदेश र स्थानीय सरकार सकारात्मक भए हलिया पुनर्स्थापना गर्न धेरै समय नलाग्ने उनको भनाइ थियो । सायल गाउँपालिकाले यस कार्यका लागि कार्यविधि तयार गरेको र कार्यविधिले अन्तिम रूप पाएको पनि बताए ।
हलियाको नाममा टाठा बाठाको हालीमुहाली भएको जिल्ला समन्वय समिति डोटीका उपप्रमुख स्मृति चुनाराले बताइन । भर्खरै गठन भएको राष्ट्रिय भुमिआयोगसँग सहकार्य गरेर अगाडी बढेमा हलिया पुनर्स्थापना गर्नमा सहज हुने उनको भनाइ थियो । कार्यक्रमको समापन गर्दै हलियाको सवाल सबैको साझा भएकाले सरोकारवाला सबैले एकबद्ध भएर अगाडी बढ्नु पर्ने सम विकास केन्द्र नेपालका अध्यक्ष अधिराज बिसीले बताए । कार्यक्रमको सहजीकरण अधिकारकर्मी गोरख बहादुर सार्कीले गरेका थिए ।
