
डोटी : १४ औँ हलिया मुक्ति दिवस डोटीमा पनि मनाइएको छ । कृषि बँधुवा मजदुरहरूको मुक्ति सबैको सरोकार, पहिचान सहित न्यायोचित पुनर्स्थापना हाम्रो अधिकार भन्ने मूल नाराका साथ एक्सन एड नेपालको सहकार्य तथा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घको समन्वयमा राष्ट्रिय मुक्त हलिया समाज नेपाल डोटी र सम विकास केन्द्र (इडिसी) नेपालको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।
दिवसको अवसरमा सिलगढीको इन्द्रचोक देखी कार्यक्रम स्थल दिपायल सिलगढी नगरपालिकाको सभा हलसम्म विभिन्न नारा सहित ¥याली निकालिएको सम विकास केन्द्रका अध्यक्ष अधिराज बिसीले बताए । ¥यालीमा मुक्तहलिया पहिचान भएका सबैलाई तत्काल परिचयपत्र दे, १४ औँ मुक्त हलिया दिवस सफल पारौँ, जातीय छुवाछुत तथा सामाजिक भेदभाव अन्त्य गर, न्यायपूर्ण श्रम सम्बन्ध कायम गर, मुक्त हलिया पुनर्स्थापना सम्बन्धी ऐन लागु गर लगायतका नारा लगाइएका थिए ।

१४ औँ हलिया मुक्ति दिवसका साथै मुक्त हलिया बँधुवा मजदुरको जिल्ला सम्मेलन पनि सुरु भएको छ । सम्मेलनबाट नयाँ कार्यसमिति चयन हुने छ । हलिया मुक्ति दिवस कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख, हलिया, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, हलियाका अगुवा नेता, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
डोटी जिल्लामा एक हजार दुई सय १० जनाले हलिया परिचयपत्र पाएका छन् । जसमा दुई सय २५ जनाले क वर्गको, ५ सय ५७ जनाले ख, ८३ जनाले ग र ३ सय २७ जनाले घ वर्गको परिचय पत्र पाएका छन् । ११ सय २३ जना पुर्नस्थापना भएका छन् ।
