
किरण धामी, डोटी
अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवसको अवसरमा डोटीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । दिवसका अवसरमा बुधवार जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका विभिन्न कार्यालयका सूचना अधिकारी तथा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।
दिवसको २०२२ को नारा “आर्टिफिसियल इन्टेलिजेन्स, ई–गभर्नेन्स एन्ड एक्सेस टु इन्फरमेसन रहेको छ ।” सूचनामा पहुँचको महत्त्वलाई मान्यता दिँदै ७५ औँ संयुक्त राष्ट्र महासभाले अक्टोबर २०१९ मा संयुक्त राष्ट्र स्तरमा सूचनामा विश्वव्यापी पहुँचको लागि सेप्टेम्बर २८ लाई अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको छ ।

हरेक नागरिकले सूचना पाउनु पर्ने उसको अधिकार हो । नागरिकले मागेका सूचना दिनु सम्बन्धित निकायका सूचना अधिकारीको कर्तव्य हुन जान्छ । आवश्यक परेमा मासिक नत्र त्रैमासिक रूपमा सूचना अधिकारीहरुसंग छलफल गर्ने गरेको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । प्रदेश तथा प्रतिनिधिसभाको चुनाव नजिकिँदै गरेको सन्दर्भमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले कुनै पनि उम्मेदवारको बारेमा सूचना प्रवाह गर्दा सत्य तथ्य सम्प्रेषण गरिदिन पत्रकारलाई अनुरोध गर्नुभयो ।
जिल्लामा सूचनाको अवस्था बारेमा छलफल गर्दै समापन भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण पत्रकार रामहरि ओझाले गर्नुभएको थियो ।
