काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’
काठमाडौँ,असोज ३
नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मङ्गलबार ओम अस्पताल चावहिलमा भर्ना भएका थिए । महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार आएपछि आज ‘डिस्चार्ज’ गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्य अवस्थाबारे नियमित चासो, चिन्ता, शुभेच्छा र स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएका छन् । कोइरालाले आफ्नो स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएसँगै चिकित्सकको सल्लाहबमोजिम अब केही दिन होम आइसोलेसनमा रहने जानकारीसमेत गराएका छन् ।