
डोटी : बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवरा चौतारामा निर्माण भएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिकासँगको समन्वयमा भैरव प्रसादगण सिलगढी डोटीले निर्माण गरेको हेलिप्याडको सोमबार उद्घाटन सँगै गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
भैरव प्रसाद गणको रु. ५ लाख लगानीमा निर्माण भएको हेलिप्याडको गणका गणपति जनमत बहादुर कार्की र गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले उद्घाटन गर्नुभएको थियो । उद्घाटन पश्चात् गणपति कार्कीले गाउँपालिका अध्यक्ष गडसिलालाई हेलिप्याड हस्तान्तरण गर्नुभएको हो । गणपति कार्कीले हेलिप्याड हस्तान्तरण गर्दै यसको जिम्मा अब गाउँपालिकाको भएको बताउनुभयो । उहाँले गाउँपालिकाले हेलिप्याडको रेखदेख गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।


बोगटान फुड्सिल गाउँपालिकामा निर्माण भएको हेलिप्याड सदरमुकाम बाहिर बनेको पहिलो हेलिप्याड हो । निर्माण भएको हेलिप्याडले प्राकृतिक विपद्, सुत्केरी महिलाको उद्धार तथा गम्भीर खालको बिरामीलाई आकस्मिक उद्धार गर्न सहज हुने विश्वास गरिएको छ ।


