
कैलाली : कैलारी गाउँपालिकामा सञ्चालन भएको स्क्रिनिङ अभियानबाट थप नौ सय २१ जनामा सिकलसेल पोजेटिभ देखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा पालिकाका नौ वटै वडामा सञ्चालन भएको स्क्रिनिङ अभियानबाट उक्त सङ्ख्यामा सिकलसेल पोजेटिभ पाइएको हो । यो पालिकामा कुल जनसङ्ख्याको ९५ प्रतिशत थारु समुदायको बसोबास छ ।

जम्मा छ हजार सात सय ६४ जनाको स्क्रिनिङ गर्दा कुल परीक्षणको १३.६१ प्रतिशतमा सिकलसेल सिक्लिङ पोजेटिभ पाइएको हो । सिक्लिङ पोजेटिभ देखिएकामध्ये सिकलसेलको बिरामी र बाहक (ट्रेट) एक हप्तापछि पुष्टि हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले जानकारी दिए ।
किटद्वारा गरिएको स्क्रिनिङबाट सिक्लिङ पोजेटिभ भएको मात्रै पत्ता लाग्ने गर्छ । सिकलसेल रोगको बिरामी वा बाहक पुष्टि गर्न सिक्लिङ पोजेटिभले पुनः इलेक्ट्रोफोरेसिस मेसिनबाट परीक्षण गराउनु पर्छ । सेती प्रादेशिक अस्पतालमा यो परीक्षणको व्यवस्था रहेको छ । सिकलसेल थारु समुदायमा लाग्ने वंशाणुगत रोग हो ।
