रौतहट : रौतहटमा एकै परिवारका दुई जनाको हत्या भएको छ । जिल्लाको मौलापुर नगरपालिका–४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ । कविताको शव घरभित्रै फेला परेको हो । छोरीको शव भने पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार घटना पश्चात् मृतकका श्रीमान् धिरेन्द्र साह, उनका बुवा नागेन्द्र साहलगायत परिवारकासदस्यहरु फरार भएका छन् । सोधपुछका लागि मृतकका जेठानी र सासूलाई प्रहरी कार्यालयमा ल्याइएको उनले बताएका छन् ।
मृतकको माइती पक्षले दाइजोका लागि हत्या भएको आरोप लगाएका छन् । कविताका बुवा विजय शङ्कर साहले तीन वर्षअघि विवाह गरेकी कवितालाई उनका श्रीमानले पटक–पटक दाइजोका लागि यातना दिने गरेको बताए । घटनाको निष्पक्ष छानबिन गर्दै अपराधिहरुलाई कडा सजाय दिनु पर्ने उनको माग छ ।