
कञ्चनपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा अनियमितता विरुद्धका उजुरी दर्ता हुने क्रम बढ्दै गएको छ । चालु आर्थिक वर्षको असार दोस्रो सातासम्म अनियमितता विरुद्धका ८ सय ३८ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् ।

चालु आर्थिक वर्षको साउन महिनामा सबैभन्दा बढी एक सय ४२ उजुरी दर्ता भएका छन् । भदौमा ८४, असोजमा ५१, कार्तिकमा ३६, मङ्सिरमा ६०, पौष महिनामा ६४, माघमा ६३, फागुनमा ५७ तथा चैत महिनामा ७५ उजुरी दर्ता भएका हुन् । त्यस्तै वैशाख महिनामा ९७, जेठ महिनामा ८८ र असारको १५ गतेसम्म २१ उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।
अख्तियारमा दर्ता भएका उजुरीमध्ये ३५ प्रतिशत भन्दा बढी स्थानीय तहसँग सम्बन्धित रहेको कार्यालयका सूचना अधिकारी नवराज भण्डारीले बताए । तीनै तहका सरकारबाट सञ्चालित योजना कार्यान्वयनमा आर्थिक अनियमितता हुन थालेपछि उजुरी पर्न थालेको उनले बताए ।

