गौणे मसानी आधारभूत विद्यालय तीन तारे घोषणा
नेता र शिक्षकले छोराछोरी सरकारी विद्यालयमा पढाउने आट गर्नुपर्छ : संस्थापक मुख्यमन्त्री भट्ट

डोटी : गौणे मसानी आधारभूत विद्यालयलाई तीन तारे घोषणा गरिएको छ । बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सातफरीको सुन्तडीमा रहेको विद्यालयलाई सोमबार एक समारोहबिच तीन तारे घोषणा गरिएको हो । विद्यालयले आवश्यक १० मापदण्ड पूरा गरेपछि बोगटान फुड्सिल गाउँपालिका वास इकाइको आयोजनामा सुदूरपश्चिम प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले तीन तारे विद्यालय घोषणा गरेका हुन् ।
कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्व मुख्यमन्त्री भट्टले विकासको पहिलो प्राथमिकतामा शिक्षा रहनुपर्ने बताए । सरकारी विद्यालय व्यवस्थित बनाएर विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन तर्फ ध्यान केन्द्रित गर्नुपर्ने उनले बताए । व्यक्ति र उसको परिवारको भविष्य विद्यालयबाट नै सुरुवात हुन्छ, उनले भने, हामीले आफ्ना छोराछोरी सरकारी विद्यालयमै पढाउन सक्ने आट गर्नुपर्छ ।
सरकारको सेवा सुविधा खाने तर आफ्ना छोराछोरी संस्थागत विद्यालयमा पढाउने प्रवृत्तिले विद्यालय व्यवस्थित बन्न नसकेको उनको भनाइ छ । नेता तथा विद्यालयका शिक्षकले आफ्ना छोराछोरी सरकारी विद्यालयमा नपढाएसम्म सरकारी विद्यालयको शिक्षा गुणस्तरीय हुन नसक्ने उनको दाबी छ । स्वार्थका लागि राजनीति नगरीकन विद्यालयको विकास गर्न सबैले हातेमालो गर्नुपर्ने बताए ।

बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले विद्यालय तीन तारे घोषणा भइसकेपछि यसको दिगोपनामा ध्यान दिनुपर्ने बताए । विद्यालयलाई अझै व्यवस्थित बनाउँदै थप विकास गर्न तर्फ लागिपर्नु पर्ने उनले बताए । उनले यश कार्यका लागि गाउँपालिकाबाट हुने काम गर्न आफू तयार रहेको बताएका छन् । संस्थापक मुख्यमन्त्री भट्ट नेतृत्वको प्रदेश सरकारबाट पाँच वर्षमा गाउँपालिका भरी ४० विद्यालय भवन निर्माणका लागि बजेट आएको र ती मध्ये अधिकांश भवनको निर्माणको काम सकिएकोमा भन्दै पूर्व मुख्यमन्त्रीलाई धन्यवाद दिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाला सीँ मिजारले विद्यालयलाई तीन तारे घोषणा गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । बि.स २०७० साल भन्दा पहिलाको समयदेखि आफू विद्यालयको विकासका लागि निरन्तर काम गरिरहेको अध्यक्ष मिजारले बताए । आफ्नो कार्यकालमा प्रदेश सरकारको सहकार्यमा विद्यालयमा दुई ओटा भवन निर्माण गर्न आफू सफल भएको उनले दाबी गरे । विद्यालयमा भवन नहुँदा पठनपाठनमा समस्या हुने गरेमा हाल दुई वटा भवन भनेपछि सहज भएको विद्यालयका प्रधानाध्यापक गगन सीँ विष्टले बताए । बाटो, पसल र स्वास्थ्यको कार्यालय भएको ठाउँमा रहेको साँघुरो भवनमा भन्दा अहिले शान्त ठाउँमा रहेको विद्यालयमा पढाएको प्रभावकारी भइरहेको उनले बताए ।

साथै विद्यालयमा प्रदेश सरकारको लगानीमा निर्माण भएको दुई कोठे भवनको उद्घाटन गरिएको छ । फर्निचर सहित निर्माण भएको उक्त दुई कोठे भवनकोसंस्थापक मुख्यमन्त्री भट्टले रिबन काटेर उद्घाटन गरेका हुन् । कार्यक्रममा विद्यालयको लागि जग्गा दान गर्ने पाना विष्ट, भागादेवी विष्ट र शेर सीँ विष्टलाई सम्मान गरिएको छ ।

