
अछाम : मेल्लेख गाउँपालिकामा न्यायिक समितिको न्यायिक इजलासको उद्घाटन भएको छ । घरको समस्या घरमै, गाउँको समस्या गाउँमै बिना झन्झट र रुपियाँ खर्च नगरी समाधान खोज्ने उद्देश्यले स्थानीय तहमा इजलास अभ्यास सुरु गरिएको हो । इजलास मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सीँ साउदले गरेका हुन् ।

विवादका दुवै पक्षलाई जित–जितको महसुस हुने गरी समाधान खोज्न स्थानीय सरकारलाई न्यायिक अधिकार दिएकाले सोही अनुसार निष्पक्ष न्याय दिन इजलास अभ्यासको सुरुवात गरिएको अध्यक्ष साउदले बताएका छन् । नेपालको संविधानको भाग १७ को धारा २१७ अनुसार उपाध्यक्षको संयोजकत्वमा गठन भएको तीन सदस्यीय न्यायिक समितिले स्थानीय तहमा नै इजलास अभ्यास सुरु गरेको अध्यक्ष साउदले बताए ।
गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक नृप बहादुर खड्काले इजलासबाट मेल्लेखवासीलाई न्याय दिलाउन अधिकार क्षेत्रभित्र रहिसक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमिन, अंशबन्डा, साँध सिमाना, विवादजस्ता मुद्दाको टुङ्गो लगाउने खड्काले बताए ।
