
असोज २, डोटी
राष्ट्रिय शिक्षा पुरस्कारबाट डोटीका तीन जना सम्मानित भएका छन् । राष्ट्रिय शिक्षा दिवसको अवसरमा डोटी बहुमुखी क्याम्पसका प्रमुख दिलानन्द जोशी, केदारेश्वर माविका प्रधानाध्यापक गगन सिंह कार्की र सुजंग बोर्डिङ इङ्लिस स्कुलका प्रधानाध्यापक मान बहादुर कठायत सम्मानित भएका हुन् ।

डोटी बहुमुखी क्याम्पस सिलगढीका क्याम्पस प्रमुख जोशी विश्वविद्यालयका प्राध्यापकहरूको तर्फबाट, शिखर नगरपालिका–१ कपल्लेकीको केदारेश्वर माद्यामिक विद्यालयका प्रधानाध्यापक कार्की सामुदायिक विद्यालयको तर्फबाट र सुजंग बोर्डिङ इङ्लिस स्कुल राजपुरका प्रधानाध्यापक कठायत निजी विद्यालयका तर्फबाट सम्मानित भएका हुन् ।
‘समावेशी र सीपमूलक शिक्षा, स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ दिवस मनाउँदै सरकारले विभिन्न विधामा शिक्षकहरूलाई सम्मान गरेको हो । सरकारले बर्सेनि राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रत्येक प्रदेशबाट सामुदायिक र निजी विद्यालयका ५/५ जनालाई सम्मान गर्दै आएको छ । शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि देशभर ९६३ जनाको नामावली समेत सार्वजनिक गरेको छ ।
