
अछामबाट एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । बिहीबार जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ७ की २५ वर्षीय मगलि थापाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । पेटमा ३६ हप्ताको गर्भ रहेकी थापाको रक्तचाप बढ्नुका साथै ज्वरो आइरहेको र शरीरमा सेतो रगतमा कमी छ ।

थापाको पेटमा रहेको बच्चाको मुटुको धड्कन पनि बढेकोले जिल्ला अस्पताल अछामको सुझाव अनुसार राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टर मार्फत प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलका अनुसार जिल्ला अस्पताल अछाममा उपचार सम्भव नभएकोले आइसियु र प्रसूति दुवै सेवा भएको अस्पतालमा लैजानु पर्ने भएपछि हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।
