
असोज ३०, डोटी
बोगटान फुड्सिल गाउँपालिकाले दिल्पेश्वर क्रिकेट लिग (डिसिएल) मा विजयी सुरुवात गरेको छ । दिल्पेस्वर स्पोर्ट्स क्लबको आयोजनामा दिपायलमा जारी प्रतियोगितामा बोगटानले लेकठाटालाइ ७ विकेटले पराजित गरेको हो ।लिग चरणको पहिलो खेलमा बोगटानले टस जित्दै लेकठाटालाइ ब्याटिङको निम्तो दिएको थियो ।

बोगटानको घातक बलिङको सामु लेकठाटा ८ ओभरमा अलआउट हुँदै ४६ रनमा समेटियो । लेकठाटालाइ सस्तैमा समेट्न बलर तथा विकेट किपर पवन मल्लले ३, जगदिस बोगटी र दीपेन्द्र मल्लले समान २/२ विकेट तथा कप्तान भरत बोगटी र रविन मल्लले समान १/१ विकेट लिए ।
४७ रनको विजयी लक्ष्य बोगटानले ६ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । अलराउन्डर प्रदर्शन गरेका बोगटानका पवन मल्ल खेलको म्यान अफ दि म्याच भएका छन् । उनले ३ ओभर बलिङ गर्दै ३ विकेट र ब्याटिङमा नट आउट ३ चौकाको मदतमा १५ रनको पारी खेले ।
जितपछि बोगटानका प्रशिक्षक शिशिर बोगटीले खेलाडीहरूको प्रदर्शन देखेर आफू निकै उत्साहित भएको बताएका छन् । उनले आफ्नो दोस्रो खेलमा पनि जित निकाल्ने रणनीति तय गरिने बताएका छन् । २७ टिमको सहभागिता रहेको प्रतियोगिताको समूह चरणको दोस्रो खेलमा बोगटानले टिम सैलेस्वरिको सामना गर्नेछ ।
