अमेरिकी राष्ट्रपतिलाई कोरोना सङ्क्रमण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसअघि आफ्ना एक सहयोगीमा कारोना पुष्टि भएकाले आफू र श्रीमती मेलानियाले पनि कोरोना परिक्षणको लागी स्वाब दिएको र नतिजा कुरिरहेको ट्रम्पले बताउनु भएको थियो । उनकी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीकै रिपोर्ट पोजेटिभ आएको बीबीसीले जनाएको छ ।
कोरोना रिपोर्ट पोजेटिभ आएकाले ट्रम्प दम्पती आइसोलेशनमा जाने तयारी छ । ट्रम्पले सामान्यतया मास्क नलगाउने र व्यक्तिगत दूरी पनि कायम गरेको पाइँदैन । उहाँले कोरोनालाई हल्का रुपमा लिएको भन्दै आलोचना हुँदै आएको छ । पछिल्लो समय सल्लाहकार हिक्स राष्ट्रपति ट्रम्पसँग थुप्रै ठाउँमा राष्ट्रपतिय चुनावी बहसका कार्यक्रममा जानुभएको थियो ।