
कात्तिक १०, मुगु । मुगुमा एकै परिवारका चार जनाको हत्या भएको छ । गयराति जिल्लाको छयाँनाथ रारा नगरपालिका–६ स्थित मुन्दु गाउँमा चार जनाको हत्या भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार धारिलो हतियार प्रहार गरी रातिको समयमा एकै घरपरिवारका चार जनाको हत्या गरिएको छ ।

२७ वर्षीया आमा श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज बोहरा, ७ वर्षीया छोरी अप्सरा बोहरा, ८ वर्षीय छोरा रहर बोहराको हत्या गरिएको उनले बताएका छन् । हत्या कसले गरेको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । मृतक श्रीदेवी बोहराका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहमा छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
मुन्दु गाउँकी स्थानीय धर्मी बोहराका अनुसार ८ गते बेलुका ४ बजेतिर माइतीघर कोटिलाबाट टीका लगाएर उनीहरू घर आएका थिए । हत्याराले घरभित्र हत्या गरेर ढोकामा ताल्चा लगाएर भागेको प्रहरीको भनाइ छ ।
