
मंसिर ८, डोटी । डोटीको सायल गाउँपालिकामा लक्षित वर्गका लागि ३ महिने सिलाइ कटाइ तालिमको आयोजना गरिएको छ । उपेक्षित सामुदायिक सशक्तीकरण तथा विकास मञ्च (युएसएसबिएम) डोटीको आयोजनामा सायल गाउँपालिका-४ मा शुक्रवारबाट तालिम सुरु भएको छ । लुथरन विश्व फेडेरेसन नेपालको सहयोग तथा सायल गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालय डोटीको सहकार्यमा आयोजना गरिएको सिपमूलक आधारभूत सिलाइ कटाइ तालिममा १५ जना महिला तथा पुरुषको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका डोटीका प्रमुख मोहन कठायतले राम्रो सीप सिक्न सहभागीलाई अनुरोध गरेका छन् । निःशुल्क सञ्चालन हुने तालिमको भरपुर फाइदा लिन प्रमुख कठायतले बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा सायल गाउँपालिकाका अध्यक्ष धर्म राज जोशीले सिलाइ कटाइलाई गाउँपालिकाले आयआर्जनको महत्त्वपूर्ण स्रोतको रूपमा लिएको बताए । लक्षित वर्गका महिला तथा पुरुले सीप सिकेर व्यवसायी बनी राम्रो आयआर्जन गरून् भनेर तालिम दिइन लागेको अध्यक्ष जोशी बताए । अध्यक्ष जोशी तीन महिने तालिमबाट राम्रो सीप सिकेर व्यवसायी बन्न चाहनेलाई थप तालिम दिइने बताउँदै तालिमको सदुपयोग गर्न आग्रह गरे ।
युएसएसबिएम डोटीका अध्यक्ष टीका सीँ नेपालीले सहभागीलाई तालिममा सक्रिय रूपले सहभागी हुन आग्रह गरे । उनले सिलाइ कटाइबाट व्यवसायी बन्न सकेमा रोजगारीको लागि भौतारीनु नपर्ने बताए । तालिम युएसएसबिएमको साहस-२ परियोजना अन्तरगत दिइन लागेको संस्थाका जीविकोपार्जन सहजकर्ता गणेश कोलिले बताए ।
