

मङ्सिर १५, डोटी । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित डोटीमा पनि ३६ औँ विश्व एड्स दिवस मनाइएको छ । हरेक वर्ष डिसेम्बर १ का दिन मनाइने यो दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो । जिल्ला स्वास्थ्य कार्यालय डोटीले विभिन्न नारा लगाउँदै सिलगढी बजारमा र्याली निकालेको छ ।
‘३६ औँ विश्व एड्स दिवस सफल पारौँ, समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ’, ‘एचआइभी सङ्क्रमितलाई हुने भेदभाव अन्त्य गरौँ’, सबैको सहकार्य एचआइभीको अन्त्य लगायतका नारा लगाउँदै जिल्ला अस्पतालबाट सुरु गरिएको प्रभात फेरी सिलगढी बजार हुँदै जिप्रका अगाडीसम्म निकालिएको थियो । साथै दिवसकै अवसरमा विभिन्न सङ्घसंस्थाको सहयोगमा सिलगढीमा रहेको पद्म पब्लिक मुक्तिनारायण माद्यामीक विद्यालयमा वक्तृत्वकलाको आयोजना गरिएको थियो । बिहीबार आयोजना गरिएको वक्तृत्वकला कार्यक्रममा कक्षा ९ मा अध्ययनरत कञ्चन पालि प्रथम, १० कक्षामा अध्ययनरत गणेश जोशी द्धितीय र कक्षा ९ का भूपेन्द्र बोगटी तृतीय भएका थिए ।
