
पुस ०२, डोटी
डोटीमा घरेलु हिंसा सम्बिन्धिका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) डोटीको तथ्याङ्क अनुसार घरेलु हिंसाका घटनामा वृद्धि भएको पाइएको छ । सन् २०२३ को ११ महिनामा डोटीमा ३२ घरेलु हिंसाका घटना घटेका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा जनावरी देखी नोभेम्बरसम्ममा ३२ ओटा घरेलु हिंसाका घटना घटेको उल्लेख गरिएको छ । यो वर्ष सकिन एक महिना बाँकी रहेकाले संख्या थप हुन सक्छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का अनुसार डोटीमा सन् २०२२ मा २५ ओटा घरेलु हिंसाका घटना घटेका थिए भने २०२१ मा २१ ओटा घटना घटेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ मा उल्लेख गरिएको छ । घरेलु हिंसाबाट अधिकांश महिलाहरू पीडित हुने गरेका छन् । महिलाहरू आफ्नै श्रीमान्, सासू, ससुरा तथा घरका अन्य सदस्यबाट हिंसामा पर्ने गरेका छन् ।
