
पुस २२, डोटी
डोटीमा जङ्गली भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङकी ५६ वर्षीय महिला गौरी भाट र ५० वर्षीय जङ्ग भाट भालुको आक्रमणबाट घाइते हुनुभएको छ । स्थानीय नरेन्द्र रोकायाका अनुसार आइतबार बुढीखेत भन्ने ठाउँमा खेतबारीको काम गरिरहेका उहाँहरूलाई भालुले आक्रमण गरेको हो । खेतमा काम गरिरहेका बेला करिब दिउँसो ३ बजे भालुले गौरीलाई आक्रमण गरेको र सोही स्थानमा रहेका जङ्ग गौरीलाई बचाउन जाँदा भालुको आक्रमणमा पर्नुभएको हो ।

भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएका दुवै जनाको स्थानीय जिडी पोलिक्लिकमा सामान्य उपचार पछि थप उपचारको लागि धनगढी पठाइएको वडा अध्यक्ष खगेन्द्र ओझाले जानकारी दिनुभयो । घाइतेहरूको पिठ्यूँ, अनुहार, घाटी लगायतको ठाउँमा चोट लागेको छ । दिउँसै भालुले मान्छेलाई आक्रमण गरेपछि स्थानीयमा त्रास फैलिएको छ ।
