डाक्टर भन्दा देवताको भरपर्दा शिशुको ज्यान गयो

पुस २७, डोटी ।
दिपायल सिलगढी नगरपालिका–९ की २२ वर्षकी एक महिलालाई सुत्केरी बेथा लागेपछि बिहीबार साँझ ७:३० बजे उन कि सासू सहित छिमेकी महिलाहरूले जिल्ला अस्पताल डोटी पुर्याए । बेथा बढ्दै गएसँगै राती १० बजे पुरै पाठेघर खुल्यो तर बच्चा बाहिर निस्किन सकेन ।
पाठेघर खुलेको दुई घण्टा पछिसम्म नवजात शिशु बाहिर निस्किन नसकेपछि डिउटीमा रहेका नर्सहरूले तुरुन्तै विशेषज्ञ डाक्टर नीराजन श्रेष्ठलाई खबर गरे र अप्रेसनको तयारीमा जुटे । साथमा आएकी आमाले बुहारीले बच्चा जन्माउन नसकेको र अप्रेसन गर्नु पर्ने डाक्टरले भनेको कुरा भारतको दिल्लीमा रहेको छोरा र घरमा पनि जानकारी गराइन् ।

लागदोश(देवता,भूतप्रेत) लागेको होला भोली देवता सोधेर मात्रै हुन्छ भन्ने खबर दुवै तिरबाट आयो । सोही कुरा कुरा डाक्टरको टिमलाई उनकी सासूले भनिन् । डाक्टर र नर्सहरूको टोलीले सासू र साथमा रहेका आफन्तलाई राती दुई बजेसम्म सम्झाउने कोसिस गरे तर उनीहरू सफल भएनन् । डाक्टर नीराजन भन्छन् ‘हामीले आमा र बच्चा दुवैको ज्यान खतरामा छ ढिलो भयो भने बचाउन सकिन्न भन्यौँ तर उहाँहरू मान्नु भएन देवता नसोधी हुन्न भन्ने अडानमा रही रहे ।’

Sayalb

उनीहरूको परिवारको सल्लाह अनुसार नै बिहान ८ बजे तिर गाउँकै धामीको घर पुगेर सुत्केरी हुन नसकेको बारे देवता सोधे । धामीले भनेछन् ‘सङ्कट त सङ्कट छ तर ३÷४ घडयौला(घण्टा) केही हुन्न म टेक्छु (रोक्छु)त्यति बेलासम्म भइहाल्छ ।’ भन्ने आसवासन भएका उनीहरू चिकित्सक भन्दा देवताको भनाइले ढुक्क भए । आमा र शिशुको स्वास्थ्य प्रतिकुल भन्दै गएपछि चिन्तित बनेको अस्पताले फेरी पनि अप्रेसनका लागी तयार हुन वा अन्यत्र लैजान सहमत बनाउन प्रयास थाल्यो त्यही सिलसिलामा भारतको दिल्लीमा रहेका उन्का श्रीमान्सँग डाक्टर नीराजन श्रेष्ठले भिडियो कलमा कुरा गरे र भने ‘आमा र बच्चाको अवस्था बिग्रँदै छ कि अप्रेसन गर्ने सहमति दिनु होस हामी माथि विश्वास छैन भने बरु अन्यत्र लैजानु होस अब अप्रेसन बिना आमा र बच्चाको ज्यान बचाउन सम्भव हुँदैन ।’ डाक्टरले सम्झाएपछि श्रीमानले सहमति दिएर यता आमाले अप्रेसनका लागी हस्ताक्षर गरिन् ।

सहमति पाए लगत्तै शुक्रवार बिहान ९ बजे डाक्टरको टिमले अप्रेसनको तयारीमा जुट्यो अप्रेसन पूर्व शिशुको अवस्था थाहा पाउन भिडियो एकसरा गरियो तबसम्म शिशुको ज्यान गई सकेको थियो । बच्चाको मृत्यु भएको जानकारी पाएको चिकित्सकको टिमले अप्रेसन गर्नु भन्दा भ्याक्युम डेलिभरी गर्नु नै उपयुक्त ठान्यो र मृत बच्चा बाहिर निकालियो । अहिले आमाको स्वास्थ्य अवस्था सामान्य रहेपनी शिशु मृत्युको खबरले परिवार स्तब्ध छ । डाक्टरको लाख कोसिस माथि अविश्वास गरेका उनीहरूले देवताको एक बचन सुन्ने हठले गर्दा उनीहरूसँग अहिले पश्चात्ताप गर्नु बाहेक अर्को विकल्प छैन ।

हरेक दिन वा हप्तामा भूतप्रेत र देवता लागेका कारण उपचार हुन नसकेको भनेर बिरामीहरू आउने गरेको जिल्ला अस्पताल डोटीका डाक्टर निराजन श्रेष्ठले बताए । उनले भने ‘हरेक दिन वा हप्ता मा एक/दुई बिरामी यस्तो कुरा लिएर आउँछन् । कतिपय सम्झाएमा मान्छन् कसैले त मान्दै मान्दैनन् ।’

Shaileshwori
Loading...