सामुदायिक वनलाई जनसमुदाय र राष्ट्रको धन वनाउनु पर्नेमा नगर प्रमुख कुँवरको जोड


एकेन्द्र महता, अछाम
साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवरले संघीय संसद्ले वन ऐन २०७६ पारित गरी सकेका कारण यसैको अधिनमा रहेर स्थानीय तह अघि बढ्न तयार रहेको बताउनु भएको छ । शुक्रबार डिभिजन वन कार्यालय अछामको आयोजनामा भएको वन कार्यालय, स्थानीय सरकार र उपभोक्ता विच अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख कुँवरले सामुदायिक वनहरु आफ्नो लक्ष्य, उद्देश्य र सिद्धान्तबाट विचलन नभई अघि बढ्नु पर्नेमा जोड दिनु भएको हो । सामुदायिक वनलाई जन समुदाय र राष्ट्रको धन वनाउनु पर्ने नगर प्रमुख कुँवरको जोड रहेको छ । यस्तै उहाँले सामुदायिक वनमा हुँदै आएको चोरी तस्करी नियन्त्रणको लागि उपभोक्ता समिति जागरुक हुनु पर्ने बताउनु भएको हो ।
कार्यक्रमको सहजिकरण गर्दै डिभिजन वन अधिकृत नारायणदेव भट्टराईले सामुदायिक वनको गठन हस्तान्तरण र व्यवस्थापन स्थानीय सरकारबाटै गरिने नयाँ कानुनी व्यवस्था भई सकेका कारण वनको दिगोपन सबैले साथ दिनु पर्ने बताउनु भएको छ । उहाँले सामुदायिक वन उपभोक्ता समुहहरुलाई स्वतन्त्र, स्वायत्त र संगठीत रुपमा सञ्चालन गर्नका लागि स्थानीय सरकारको भूमिका रहेकोमा पनि जोड दिनु भएको छ ।
अन्तरक्रिया कार्यक्रममा साँफेबगर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण बहादुर बुढा, वडा नम्बर ५ का वडा अध्यक्ष उजिर सिंह साउँद, वडा नम्बर ७ का वडा अध्यक्ष मिठ्ठु सिंह भाट, वडा नम्बर १० का वडा अध्यक्ष लाल बहादुर खड्का, डिभिजन वन कार्यालय वित्त सहायक सुरत खड्का, सामुदायिक वनका अध्यक्ष लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सहायक वन अधिकृत प्रकाश जोशीले गर्नु भएको थियो ।
