भूकम्प प्रतिरोधी संरचना बनाउनु नै भूकम्पबाट बच्नु हो : प्रजिअ अर्याल

माघ २, डोटी । २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस डोटीमा पनि मनाइएको छ । ‘स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने नाराका साथ जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा दिवस मनाइएको हो । दिवसको अवसरमा सिलगढी स्थित इन्द्रचोक देखि विभिन्न नारा सहितका प्लेकार्ड बोकी जनप्रतिनिधि, निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरी लगायतको सहभागितामा जिल्ला प्रशासन कार्यालयसम्म र्‍याली निकालिएको थियो ।

र्‍यालीपछि आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले डोटी सहित सिङ्गो नेपाल भूकम्पको जोखिममा रहेकाले भूकम्पबाट बच्ने उपाय भूकम्प प्रतिरोधी संरचना भएको बताए । ‘भूकम्पले केही गर्दैन, हामीलाई समस्या गर्ने हामीले नै बनाएका संरचना हुन्, प्रमुख जिल्ला अधिकारी अर्यालले भने, तपाई हामीले देखेकै छौँ भूकम्प आउँदा संरचना भत्किएर त्यसैमा च्यापिएर धेरैको ज्यान गएको छ ।’

Sayalb

उनले अब बन्ने संरचना भूकम्प प्रतिरोधी मात्रै बनाउनु पर्ने र पुराना संरचनालाई पनि भूकम्प प्रतिरोधी बनाउने उपाय अपनाउनुपर्ने बताए । यस्तो कार्यका लागि स्थानीय सरकारको प्रमुख भूमिका रहने उनको भनाई छ । सरकारले बनाएको मापदण्ड अनुसार संरचना बनाउन लगाउने र मापदण्ड भन्दा विपरीत बन्ने संरचना रोक्ने कार्य स्थानीय सरकारले गर्नुपर्ने उनले बताए । राज्यले मापदण्ड बनाउने र सो मापदण्ड पुरा गरी भूकम्प प्रतिरोधी संरचना बनाएर राज्यलाई सहयोग गर्नु नागरिकको कर्तव्य हुने अर्यालको भनाई छ ।

नेपालमा विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा हरेक वर्ष देशभर माघ २ गते विभिन्न कार्यक्रम आयोजना राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आइएको छ ।

   

Shaileshwori
Loading...