
१६ माघ, डोटी
जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ ले जातीय विभेद तथा छुवाछुत जन्य कार्य गर्ने तथा गराउने कुरालाई निषेध गरेको छ । सार्वजनिक तथा निजी दुवै स्थलमा जातीय भेदभाव वा छुवाछुतजन्य कार्य गरेको अवस्थामा जो कोहीलाई पनि ऐनअन्तर्गत फौजदारी दण्डको भागीदार बन्नुपर्ने व्यवस्था छ । तर कयौँ जातीय विभेद तथा छुवाछुतका घटना कानुनको ढोकासम्म पुग्न सक्दैनन् । यस्तो अवस्थामा पीडितले न्याय पाउने त भएनन् नै, पिडक पनि कानुनी दायरामा आउँदैन । यस्तै भएको छ डोटीमा ।
आइतबार साँझ करिब ५ बजेको समयमा के.आई.सिंह गाउँपालिका–४ धामीगाउँ धाराखोलाका ६० वर्षीय व्यापारी ईश्वर धामीबाट सोही वडाको लेककोटका रमेश भुल कुटिन पुगे । विषय थियो पानी । धामीको होटेलमा रहेको ड्रमबाट खानको लागि पानी झिक्न थालेका बेला रमेश माथि हातपात भएको हो । त्यति बेला रमेशले भनेका थिए बाजे मलाई किन पिटेको ? प्रश्नपछि धामीले दलित भएर पानी किन छोएको भन्दै अपाच्य शब्द प्रयोग गरी थप कुटपिट गरे । घटनापछि रमेश आइतबार साँझ नै वायल प्रहरी चौकीमा जानुभयो तर भोली १० बजे आउनु भनी फर्काइयो । वायल प्रहरी चौकी प्रमुख, प्रहरी सायक निरीक्षक (सई) मान सीँ भण्डारीका अनुसार त्यति बेला दुवै पक्ष मदिर सेवन गरेर चौकी आएका थिए ।
रमेश सोमबार बिहानको १० नबज्दै प्रहरी चौकी पुगे । त्यहाँ केही बेरको छलफलपछि धामी विरुद्ध जातीय भेदभाव तथा छुवाछुतको आरोपमा मुद्दा दर्ता गर्ने अडान राखेपछि प्रहरी सायक निरीक्षक (सई) मान सीँ भण्डारीले यो घटना हामीले हेर्न नमिल्ने भन्दै जिल्ला प्रहरी कार्यालय सिलगढी जान भने । यति बेला सम्म यो घटना मिडियामा पनि छाइसकेको थियो । तर यो घटना जिल्ला प्रहरी कार्यालयमा नपुगी समुदायमै मेलमिलाप भएको पाइएको छ ।

सोमबार बिहानसम्म पिडकलाई कानुनी कठघरामा ल्याएरै छोड्ने अडानमा रहेका रमेश दिउँसो सहमति गर्न पुगे । उनले भने, ‘सबै कुरा मिलिसकेको छ धामीले अब देखी यस्तो कार्य नगर्ने भन्दै सार्वजनिक रूपमा माफी मागेका छन्, मेरो अभिभावकले पनि सहमतिमै जाने कुरा गरे ।’ पाको उमेरका त्यही माथि प्रेसरको औषधी सेवन गरिरहेका व्यक्तिले त्यत्रो अनुरोध गरेपछि आफ्नो मनले पनि मुद्दा मामिला गर्न नमाने रमेशको भनाई छ ।
जातीय विभेदको घटना समुदायमै मिलाइएको भन्दै सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । कतिले सरकार तथा अधिकारकर्मीहरूले घटना प्रति वास्ता नगरेको बताइरहेका छन् भने कतिले घटना दबाउन खोजिएको आरोप लगाइरहेका छन् । मानव अधिकारकर्मी अधिराज विसिले न्यायको खोजीमा पीडित नगएसम्म न्याय नभेटिने बताएका छन् । समुदायको एक अदृश्य शक्ति यस्ता घटनालाई न्यायालयसम्म पुग्न नदिन भूमिका खेलिरहेकोले यसमा राज्य चनाखो हुनुपर्ने उनको भनाई छ । यसरी घटना मिलाउँदै जाने परिपाटीले जातीय विभेदको अन्त्य हुन नसक्ने उनको भनाइ छ ।
यता गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले यो घटनाको बारेमा पालिकालाई जानकारी नभएको बताए । सोमबार दिउँसो आफु वडा नम्बर २ का एक जनाको अन्तयष्टी कार्यक्रममा गएको र साझ फर्किदासम्म घटना मिलिसकेको जानकारी पाएको अध्यक्ष शाहीले बताए ।
