
सुबास नेपाली
माघ १६, डोटी

डोटीको सिलगढीमा ४ दिने सामुदायिक विपद् प्रतिकार्य तालिम सुरु भएको छ । डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गणको आयोजनामा तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजाले बाढी पहिरो, आगलागी, भूकम्प लगायतबाट उत्पन्न हुने विपद्लाई मध्यनजर गरेर स्थानीय स्तरमै दक्ष स्वयंसेवक उत्पादन गरी त्यसबाट हुने जोखिम न्यूनीकरण गर्ने तालिमको उद्देश्य रहेको बताए ।
डोटी जिल्ला बहुपक्षीय बिपदको जोखिममा रहेको र विगतका घटनाले सिकाएको पाठ अनुरूप विपद् जोखिम न्यूनीकरण गर्न तालिम प्रभावकारी हुने गणपति देउजाको भनाइ छ । तालिमले स्थानीय स्तरमै दक्ष स्वयंसेवक उत्पादन हुने र यस बाट समुदायमा हुने विपद्का घटनामा तत्काल उद्धार र क्षति न्यूनीकरण हुनेमा आफू विश्वस्त रहेको बताए । कुनै पनि स्थानमा विपद् आउन सक्ने भएकोले त्यस ठाउँमा उद्धारकर्मी भन्दा पहिले स्थानीयहरू पुग्ने भएकोले उनीहरूलाई नै व्यवस्थापन सम्बन्धी तालिम दिँदा प्रभावकारी हुने देउजाले बताए ।
तालिममा विपद्का समयमा अपनाउनुपर्ने पूर्व तयारी, खोज, उद्धार, प्राथमिक उपचार तथा स्थानीय स्रोत साधनको प्रयोग सम्बन्धमा सहभागीहरूलाई सैद्धान्तिक र व्यवहारिक सीप सम्बन्धी जानकारी दिइने गणले जनाएको छ । तालिममा जिल्लाका ९ वटा स्थानीय तहका २० जनाको सहभागिता रहेको छ ।
