वन्यजन्तुको चोरी सिकारी रोक्न डिभिजन वन कार्यालय डोटीले निगरानी बढाउने

सुबास नेपाली
माघ १७, डोटी 
डोटीका ग्रामीण भेगबाट वन्यजन्तुको चोरी सिकारी तथा वन क्षेत्र अतिक्रमण बढेको भन्दै डिभिजन बन कार्यालय डोटीले निगरानी बढाउने भएको छ । बुधवार सरोकारवालाहरू सँगको बैठकबाट वन्यजन्तुको चोरी सिकारी तथा वन क्षेत्र अतिक्रमण जस्ता कार्यको न्यूनीकरण गर्न कार्य योजना सहित अघि बढ्ने निर्णय भएको हो ।
Sayalb
जिल्लाका विभिन्न सामुदायिक र सरकारी वनमा रतुवा, मृग, बँदेल, घोरल, कालिज लगायतका वन्यजन्तुको चोरी निकासी हुने गरेको र जिल्लाका केही ठाउँमा बन अतिक्रमण गरी बस्ती बिस्तार गरेका कारण बन विनाश हुँदै गएको छ । त्यसको न्यूनीकरणका लागी जिल्ला स्थित सुरक्षा निकाय तथा सरोकारवालाहरू सँगको समन्वयमा कडाइका साथ निर्णय कार्यान्वयन गरिने डिभिजन बन कार्यालयका डिभिजनल बन अधिकृत गोकुल रिजालले बताए ।
बन फडानी, वन्यजन्तुको चोरी निकासीका साथै बहुमूल्य जडीबुटीको ओसारपसार जस्ता कार्यले पारिस्थितिक प्रणालीमा असर पुर्‍याउने जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । यस्ता समस्यालाई साझा मुद्दाका रूपमा अगाडि बढाउनु पर्ने उनको भनाई छ । यस्ता समस्या समाधान गर्न सबै जिम्मेवार निकायहरूको उत्तिकै भूमिका हुने भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।
बन क्षेत्रमा हुने वन्यजन्तु चोरी निकासीका कारण एकातिर वन्यजन्तु लोप हुने खतरा बढेको छ भने अर्कोतर्फ पारिस्थितिक प्रणाली लगायतमा दीर्घकालीन असर पर्ने देखिन्छ । डिभिजन बन कार्यालय डोटीले गरेको निर्णय कार्यान्वयन भए वन्यजन्तु चोरी निकासी, वन अतिक्रमण लगायतका समस्या नियन्त्रणमा सहयोग पुग्ने देखिन्छ ।
Shaileshwori
Loading...