
१८ माघ, डोटी
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक महावीर पुन किताब बेच्न डोटी पुगेका छन् । अध्यक्ष पुन आफ्नो जीवनीमा आधारित ‘सम्झना, सपना र अविरल यात्रा’ नामक किताब बेच्ने अभियानका क्रममा डोटी पुगेका हुन् ।

अभियानको २३ औँ दिन बुधवार साँझ डोटी पुगेका वैज्ञानिक पुन आज (बिहिवार) २४ औँ दिन दिनभर डोटीमा रहने छन् । बिहान ८ बजेदेखि सिलगढीमा र दिउँसो १ बजेबाट दिपायलमा किताब बेच्ने उनको कार्यक्रम रहेको भए पनि गएरातिदेखि परिरहेको पानीले अभियानलाई केही असर गरेको छ । अहिले उनी छाता ओढेर यहाँका बजार तथा विद्यालय, क्याम्पस र विभिन्न कार्यालयमा गएर किताब बेचिरहेका छन् ।
वीरगन्ज स्थित कृषि कारखाना सञ्चालन गर्ने रकम जुटाउन महावीर पुनले किताब बेच्ने अभियान सञ्चालन गरेका हुन् । ३ लाख प्रति किताब बेच्ने लक्ष्य राखिएकोमा अहिलेसम्म करिब ३२ हजार बिक्रि भइसकेको उनले बताए । लक्ष्य अनुसार किताब बिक्री भएमा करिब १६ करोड आम्दानी हुने अनुमान छ । राष्ट्रिय आविष्कार केन्द्रले एक करोड २५ लाख खर्च गरेर बन्द रहेको कारखानामा रहेका ८० प्रतिशत मेसिन १० महिना लगाएर चल्ने बनाएको पुनले बताए । १० बिघा क्षेत्रफलमा फैलिएको कारखाना सञ्चालनमा ल्याउन १५ देखि २० करोड आवश्यक पर्ने भएकाले अभियान सञ्चालन गरेको उनले बताए ।
