
फागुन ०४ , डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ सिलगढी बालश्रम मुक्त वडा घोषणा भएको छ । जिल्ला सदरमुकाम समेत रहेको वडालाई शुक्रवार शैलेश्वरी मन्दिर प्राङ्गणमा एक कार्यक्रमका बिच बालश्रम मुक्त वडा घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख बाजी सिंह खड्काले दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ बालश्रम मुक्त वडा भएको घोषणा गर्नुभयो । बालश्रम मुक्त वडा घोषणा हुनेमा यो वडा डोटी जिल्लाकै मात्र नभएर सुदूरपश्चिम प्रदेशका सात सय ३४ वडामध्ये तेस्रो वडा हो ।
पहिलो र दोस्रो वडाका रूपमा यसै नगरपालिकाको वडा नम्बर ५ र वडा नम्बर ८ लाई घोषणा गरिएको थियो । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ सुदूरपश्चिम प्रदेशकै पहिलो वडाको रूपमा २०७९ चैत्र २९ गते र दोस्रो वडाको रूपमा वडा नम्बर ८ लडागडालाई २०८० जेठ १६ गते बालश्रम मुक्त वडा घोषणा गरिएको थियो । दिपायल सिलगढी नगरपालिकाले २०७५ सालदेखि बालश्रम मुक्त नगर बनाउने उद्देश्यले विभिन्न अभियानहरूको सुरुवात गरेको थियो । सोही अनुरूप तीन ओटा वडा बालश्रम मुक्त घोषणा भएका छन् ।

नेपालको कानुन अनुसार १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि श्रममा लगाउन पाइँदैन । तर १४ देखी १८ वर्षका बालबालिकालाई बिहान ६ बजेदेखि बेलुकीको ६ बजेको बिचमा बढीमा ६ घण्टा मात्रै काम गर्न दिइने र काम गर्नको लागि कुनै किसिमको दबाब भने दिन नपाइने भनिएको छ । बालश्रम मुक्त वडा घोषणापूर्ब वडामा विभिन्न किसिमका अभियान सञ्चालन गरिएका थिए । श्रमिक बालबालिकाहरूको तथ्याङ्क सङ्कलन गर्नेदेखि बाल श्रमिक राख्ने विरुद्ध खबरदारीसमेत गरिएको बताइएको छ । वडाभित्र उद्धार गरिएका श्रमिक बालबालिकाहरूलाई शिक्षण सामग्री सहयोगका साथै आवासीय विद्यालय भर्ना समेत गरिएको छ ।
पाँच वर्ष यता दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ मा ३० घरधुरी बाल श्रम राख्ने र ८ घरधुरीले दोह¥याइ तेह¥याइ बालबालिकालाई श्रममा लगाउने लगाएको पाइएको छ । बालश्रम मुक्त वडा घोषणा गर्नु पूर्वको एक हप्ताको अवधिमा मात्रै यहाँका विभिन्न होटेलमा रहेका ३ जना बाल श्रमिकहरूलाई घर पठाइएको कार्यक्रममा प्रस्तुत प्रतिवेदमा उल्लेख छ । हालसम्म ३० जना बाल श्रमिकहरूलाई आवासीय सुविधा सहित विद्यालयमा भर्ना गरिएको र ४० जना श्रममा रहेका बालबालिकालाई घर पठाइएको वडा अध्यक्ष नरेश मलासीले बताउनुभयो । यस वडामा जनगणना २०७८ अनुसार १ देखी ४ वर्षसम्मका २ सय ३४ जना, ५ देखी ९ वर्षसम्मका ३ सय २६, १० देखी १४ वर्षसम्मका ३ सय ७१ र १५ देखी १९ वर्षसम्मका ३ सय ७ जना गरी एक हजार २ सय ३८ जना बालबालिका रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि, नगर प्रमुख बाजी सिंह खड्काले छिट्टै नगरपालिकालाई नै बालश्रम मुक्त घोषणा गरिने बताउनुभयो । उहाँले बालश्रम मुक्त घोषणा गर्नुमा धेरै चुनौती रहेकाले यो कार्यमा समाजका सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
