
फागुन १०, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका कार्य सम्पादन मूल्याङ्कनमा जिल्लाकै पहिलो भएको छ । ४४ दशमलव ९७ अङ्क प्राप्त गरेको दिपायल सिलगढी नगरपालिका जिल्लाको प्रथम हुनुका साथै सुदूरपश्चिम प्रदेशको चौथो पालिका बनेको छ । दिपायल सिलगढीले कार्य सम्पादन मूल्याङ्कनमा सबै भन्दा बढी अङ्क प्राप्त गर्दा सायल गाउँपालिकाले सबै भन्दा कम १५ दशमलव ४१ अङ्क प्राप्त गरेको छ ।
बडीकेदार गाउँपालिका दोस्रो, आदर्श गाउँपालिका तेस्रो र के.आई.सिंह गाउँपालिका चौथो हुँदा यी पालिकाहरूले क्रमशः ३७ दशमलव ३१, ३१ दशमलव २८ र ३०ं दशमलव ७१ अङ्क प्राप्त गरेका छन् । त्यस्तै जोरायल गाउँपालिकाले २६ दशमलव ०७, शिखर नगरपालिकाले २५ दशमलव ४९ अङ्क, पूर्वीचौकी गाउँपालिकाले २३ दशमलव ३२ अङ्क र बोगटान फूडसिल गाउँपालिकाले १७ दशमलव ७० अङ्क पाएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनका लागि १७ वटा सूचक राखिएका थिए ।
१० असारभित्र बजेट ल्याए/नल्याएको, ३० असार भित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए/नदिएकोलगायतका आधारमा मूल्याकंन गरिन्छ ।
१० असारभित्र बजेट ल्याए/नल्याएको, ३० असार भित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए/नदिएकोलगायतका आधारमा मूल्याकंन गरिन्छ ।

स्थानीय तहले आगामी आवको आय/व्ययको प्रक्षेपणसहितको अनुमानित विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए/नपठाएको, स्थानीय तहले समेत बजेटको वार्षिक समीक्षा कात्तिक मसान्त भित्र सार्वजनिक गरे/नगरेकोजस्ता आधारमा पनि अङ्क दिइन्छ ।
आन्तरिक राजस्व सङ्कलनको प्रक्षेपित लक्ष्य, आन्तरिक राजस्व सङ्कलनको विवरण, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग लगायतका पक्ष पनि हेरिन्छ । स्थानीय तहले आफ्नो अधिकार क्षेत्र भित्र स्थानीय स्तरको विकासका लागि आवधिक योजना तर्जुमा गरे/नगरेको पनि मूल्याङ्कन हुन्छ । स्थानीय तहमा विद्यालय भर्ना भएका बालबालिकाको सङ्ख्या, सामुदायिक विद्यालयबाट एसइईमा ल्याएको ग्रेडिङ, गर्भ जाँच, प्रसूति सङ्ख्या, बालबालिकाको सङ्ख्या, पूर्ण खोप पाएका बालबालिकाको सङ्ख्यालाई समेत सूचकमा राखिएको छ ।
