

सजपुर–बोगटान–दिपयाल सडक दुवैतर्फबाट कालोपत्रे भइरहेको भएपनि गणेशलाई भने टुँडागाडकै चिन्ता छ । उनी थप्छन्, ‘सडक कालोपत्रे भए गाडी हाँक्न त निकै सजिलो हुने हो तर टुँडागाडकै कारण पुग्नु पर्ने ठाउँमा पुगिएन भने यात्रुहरुलाई पनि दुःख हुन्छ, हामीलाई पनि दुःख हुन्छ ।’
गणेश र डबल जस्तै यो सडकमा गाडी गुडाउने सवै चालकहरुलाई टुँडागाड खोलाकै चिन्ता हुने गर्छ । चालक मात्रै हैन, यात्रुहरुले पनि खोलाका कारण सास्ती खेप्नु परेको छ । यात्रु बिवेक नागरी भन्छन्, ‘वर्षात सुरु भयो भने हामीले हिड्ेर जानु पर्छ ।’ पुल छिटो निर्माण हुनु पर्ने यात्रुहरुको माग छ ।
चालक गणेश चन्द भन्छन्, ‘खोलामा पुल बन्ने कुरा उहिल्यैदेखि सुनेको थिएँ तर हालसम्म पनि कुनै सुरसार छैन ।’ सँगै रहेको पतलीखेल खोलामा निर्माणाधीन पुल पनि लामो समय हुँदासम्म पूरा नभएकोप्रति चालक गणेश चिन्ता व्यक्त गर्छन् ।
टुँडागाड र पतलीखेत खोलाकै कारण आफुले यो रुटमा गाडी चलाउन कम गरेको चालक बोगटीको भनाइ छ । ‘गाडीलाई पनि दुःख, यात्रुलाई पनि दुःख म (चालक) लाई पनि दुःख’, उनी भन्छन्, ‘यति दुःख गरेर चलाउनु भन्दा त अरु अन्त चलाउनु ठीक लाग्यो ।’ आउनै पर्ने अवस्था भए मात्र यो रुटमा आउने गरेको उनको भनाई छ ।
पुल छिटो निर्माण हुनु पर्ने बताउँछन् बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिला । उनी भन्छन्, ‘प्रत्येक स्थानीय तहको केन्द्रमा कालोपत्रे सडक पुर्याउने सरकारको लक्ष्य छ, सो लक्ष्य पूरा गर्नका लागि टुँडागाडमा पुल निर्माण हुनु जरुरी छ ।’
खोलामा पुल नबनाइ सडक कालोपत्रे गर्नुको खासै अर्थ नभएको अध्यक्ष गडसिला वताउँछन् । आफूले पुल छिटो निर्माण हुनु पर्ने भन्दै पटक-पटक सम्बन्धित निकायमा घच्घच्याइरहेको समेत गडसिलाको भनाइ छ ।
टेण्डर भयो, ठेक्का लागेन
पुल निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारको बजेटबाट बोलपत्र आव्हान गर्दा कसैको पनि बोलपत्र स्वीकृत नभएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख नवराज रावलका अनुसार बहुवर्षीय आयोजना अन्तर्गत कुल ६ करोड रुपैयाँ लागत अनुमान गरि ०७८/०७९ मा बोलपत्र आव्हान भएको थियो ।
आर्थिक वर्ष ०७९/०८० मा सो पुलका लागि एक करोड रुपैयाँ विनियोजन भएपनि कुनै काम हुन सकेन । यस्तै, चालू आर्थिक वर्षमा सो पुलका लागि ५० लाख मात्रै विनियोजन भएको कार्यालयले जनाएको छ ।
पुलको काम चालु आर्थिक वर्षमा अगाडी बढाउनका लागि पूर्वाधार विकास कार्यालयले संसोधित लागत अनुमान ६ करोड ४२ लाख २८ हजार तयार गरी गत असोज २५ गते टिप्पणी खडा गरी भौतिक पूर्वाधार विकास मन्त्रालयमा रावलले जानकारी दिए ।
हालसम्म उक्त पत्रको कुनै प्रतिक्रिया नआउँदा काम अगाडि बढ्न नसकेको पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्राविधिक अन्जु कुँवरले जानकारी दिइन् ।
पुल निर्माण नहुँदा वर्षातको समयमा यस क्षेत्रका नागरिकहरुले दैनिक उपभोग्य वस्तुहरुको समेत अभाव खेप्नु परेको स्थानीयहरुको गुनासो छ । नेपालप्रेसबाट
