किरण धामी
१४ फागुन, डोटी
डोटीको शिखर नगरपालिका–३ का किसान बम कार्कीले चैते धान खेती गर्न थालेको २० वर्ष भयो । उनी चैते धान मात्रै वर्षमा १० देखी १५ क्विन्टल पलाउँछन् । यसरी फलाएको धान उनको परिवार उपभोग मात्रै गर्दैन, उपभोग गरी बचेको धान बेच्ने गर्छन् । वर्षमा दुई बाली धान भित्र्याउँदा डबल फाइदा हुने कार्की बताउँछन् । यो वर्षको लागि उनले चैते धानको बेर्ना छरिसकेका छन् । ‘गहुँ काटिसकेपछि जमिन बाझो छोड्नु भन्दा चैते धान रोप्नु उत्तम हुन्छ, कार्कीले भने, यसरी एकै वर्ष दुई ओटा धान बाली भित्राउँदा डबल फाइदा हुन्छ ।’
धानबाट मात्रै नभएर परालबाट पनि फाइदा लिन सकिने कार्की बताउँछन् । चैते धानको भात खानमा अरू धानको चामल भन्दा स्वादिलो हुने कार्की बताउँछन् । साथै धानको पराल गाईबस्तुका लागि उपयोगी हुने र बेच्न पनि सकिने उनको भनाई छ । ‘चैते धानखेतिको लागि अन्य धानखेतिको तुलनामा अलि बढी मिहिनेत चाहिन्छ, उनले भने, सुरुमा बिउ उमार्न गाह्रो हुन्छ रोपेपछि पानी बढी चाहिन्छ । चैत वैशाखमा आकाशको पानी नपर्ने हुँदा नदिको पानी सुक्छ पानी भएन भने बाली सप्रिँदैन ।’
यो वर्ष कार्कीले जस्तै शिखर नगरपालिका वडा नम्बर २ कालागाडका अन्य किसानहरूले पनि चैते धान रोप्ने भएका छन् । गालागाडका करिब ३० परिवारले चैते धानको लागि फागुन पहिलो साता बिउँ राखिसकेका छन् । स्थानीय किसान राने धामीका अनुसार यहाँका किसानले प्रति किसान ५ केजी देखी १५ केजीसम्म बिउ राखेका छन् । कृषि ज्ञान केन्द्र डोटीबाट चैते धानको बिउँ उपलब्ध भएपछि धान रोप्ने तयारी गरेको धामीले बताएका छन् । पहिलो पटक चैते धान रोप्न लागेकाले उनीहरू ढुक्क भने छैनन् । ‘धान रोप्ने भनेर बिउ राखेका छौँ मौसमले साथ दिने हो कि होइन, खडेरी परेमा मिहिनेत खेर जान्छ होला, किसान रने धामीले भने, मल पनि पाइने हो कि होइन चिन्ता पनि लागेको छ ।’
कृषि ज्ञान केन्द्र र किसानका बिचमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको शिखर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गणेश बोगटीले बताएका छन् । ज्ञान केन्द्रकै सल्लाह अनुसार बिउँ राखेको बताउँदै वडा अध्यक्ष बोगटीले आफू किसानको सातमै रहेको बताए । उनले किसानलाई आवश्यक समयमै मल उपलब्ध गराउन पहल गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
चैते धान खेती बिस्तार हुँदै छ : ज्ञान केन्द्र
डोटी जिल्लामा चैते धान खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । विगतका वर्षमा एक दुई जनाले मात्रै गर्दै आएको चैते धान खेती यो वर्ष बढ्ने कृषि ज्ञान केन्द्र डोटीको आकलन छ । सेती नदी आसपासका जिल्लाका विभिन्न ठाउँमा चैते धान खेतीको राम्रो सम्भावना भएको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थिले बताए । विगतमा एक दुई जना किसानले मात्रै चैते धान रोप्ने गरेको भएता पनि यो वर्ष शिखर नगरपालिकाको कालागाड, दिपायल सिलगढी भागितडा र पाकरी लगायतका विभिन्न ठाउँबाट किसानले चैते धान खेती गर्न इच्छुकता देखाएको कार्यालय प्रमुख अवस्थिले बताए ।
ज्ञान केन्द्रले पनि चैते धान खेतीको बिस्तार चाहेको अवस्थिले बताए । ‘गहुँ भित्र्याए पछिको समय कम्तीमा ३ महिना जमिन बाझो रहन्छ जसले गर्दा हाम्रो समय र जमिनको उब्जाउ शक्ति खेर गइरहेको छ, कार्यालय प्रमुख अवस्थिले भने, हामीले जमिनको भरपुर फाइदा लिनुपर्छ ज्ञान केन्द्रको यतातिर ध्यान गएको छ ।’ उनले यो वर्ष जिल्लाका किसानलाई दुई क्विन्टल चैते धानको बिउ वितरण गरेको बताए ।
ज्ञान केन्द्रका प्रमुख अवस्थिले जिल्लाको खेतीयोग्य जमिनमा केही न केही खेती गरिरहने वातावरण बनाउन लागेको बताएका छन् । धान रोप्न मिल्ने ठाउँमा चैते धान रोप्न लगाउने र अरहर दालको सम्भावना भएको ठाउँमा अरहर खेती गर्न लगाउने योजना ज्ञान केन्द्रको छ । परीक्षणका लागि ५० केजी बिउँ मगाइएको अवस्थिले बताए ।