
फागुन १६, डोटी
भू स्वर्गका नामले परिचित खप्तडमा ७ महिनामा आठ सय ८३ पर्यटक भित्रिएका छन् । सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण पर्यटकीय क्षेत्र खप्तडमा चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा ८८३ जना पर्यटक भित्रिएका हुन् । खप्तड राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार यस वर्षको श्रावण देखि माघ मसान्तसम्ममा १८ जना विदेशी र ८६५ जना स्वदेशी पर्यटक खप्तड घुम्न आएका हुन् ।

आर्थिक वर्ष ०७७/०७८ मा तीन जना विदेशी र एक हजार छ सय ८५ जना नेपाली गरी एक हजार छ सय ८८ जना पर्यटकले खप्तड भ्रमण गरे । आर्थिक वर्ष ०७८/०७९ मा १९ जना विदेशी, तीन जना सार्क राष्ट्रका र दुई हजार एक सय ८७ नेपाली गरी दुई हजार दुई सय नौ जनाले खप्तडको भ्रमण गरे ।
आर्थिक वर्ष ०७९/०८० मा दुई हजार ८ सय ९१ जना पर्यटकले खप्तडको भ्रमण गरेको तथ्याङ्क खप्तड राष्ट्रिय निकुञ्जसँग छ । दुई हजार ८ सय ९१ जना पर्यटकमा ७० जना विदेशी, २२ जना सार्क राष्ट्र र दुई हजार सात सय ९९ जना स्वदेशी रहेका छन् ।
