डोटीमा आयोजित दुई दिने संवाद सभा सम्पन्न

सीता महता
फागुन १६, डोटी
Sayalb
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा डोटीमा सञ्चालन भएको पत्रकार महिलाहरूको क्षमता विकास तालिम सम्पन्न भएको छ । पत्रकार क्षमता विकास कार्यक्रम अन्तर्गत मङ्गलवारबाट सुरु भएको पत्रकार महिलाको नेतृत्व क्षमता विकासका लागि संवाद सभा बुधवार सम्पन्न भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेश, दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको सहकार्य तथा पत्रकार महासङ्घ डोटीको समन्वयमा पत्रकार महासङ्घ सुदूरपश्चिमले दुई दिने संवाद सभाको आयोजना गरेको हो । समाचार सङ्कलन गर्दा पारिवारिक तथा सामाजिकरुपबाट हेरिने नकारात्मक दृष्टिकोणले यस क्षेत्रमा समय र ऊर्जा खर्च गरेर भविष्य बनाउन समस्या भइरहेको कार्यक्रममा सहभागीको गुनासो थियो ।
सभा समापन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले महिला पत्रकारहरूको नेतृत्व क्षमता वृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । प्रदेशमा महिला पत्रकारहरू वृद्धि भइरहेकोले उनीहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको अध्यक्ष रावलले बताए । महासङ्घले यस्ता कार्यक्रमको आयोजना हरेक वर्ष गर्दै आइरहेकाले सिकेका कुराहरूलाई व्यवहारमा पनि अनुसरण गर्न सबै महिला पत्रकारहरूलाई आग्रह गरे । पत्रकारिता क्षेत्रमा केही समय बिताएकाले महिला पत्रकारका समस्यासँग नजिक रहेको शिखर नगरपालिकाकी उपप्रमुख सुनिता रावल जोराले बताइन् । डोटीमा महिला पत्रकारको सङ्ख्या न्यून रहेकाले बेलाबेलामा खोज पत्रकारिता तालिमको आयोजना गर्नुपर्ने उनले बताइन् । उपप्रमुख रावलले नगर र आफ्नो तर्फबाट सकिने सहयोग गर्न तयार रहेको समेत बताइन् ।
Shaileshwori
Loading...