पत्रकार महिलाहरूलाई पेसामा टिक्न समस्या

फागुन १७, डोटी
सुदूरपश्चिम प्रदेशका पत्रकार महिलाहरूले पेसामा टिक्न गाह्रो रहेको बताएका छन् । मङ्गलवारदेखि बुधवारसम्म डोटीको दिपायलमा पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले आयोजना गरेको संवाद सभामा सहभागी पत्रकार महिलाहरूले यस्तो गुनासो गरेका हुन् । संवाद सभाका अधिकांश सहभागीले न्यून पारिश्रमिकका कारण पेसाबाट पलायन हुनुपर्ने स्थिति रहेको बताएका छन् ।

मिडियाहरूले दिने न्यून पारिश्रमिकले छाक टार्न गाह्रो हुने गरेको डोटीकी पत्रकार सरिता कठायतले बताउनुभयो । पत्रकारिता पेसा रोज्नु आफ्नो चाहाना भए पनि सुरुवाती दिनमा आर्थिक पाटोले समस्या गरेको उहाँले स्मरण गर्नुभयो । ‘सुरुवाती दिनमा पारिश्रमिककै कारण समस्या भएको थियो, अहिले पत्रकारिता बाहेक अन्य काम पनि गर्छु जसले गर्दा सहज भएको छ ।’

Sayalb

यो पेसामा आबद्ध महिलाहरूलाई समाजले हेर्ने दृष्टिकोण फरक रहेको बैतडीकी रितु ओझाले बताउनुभयो । उहाँले रेडियो विज्ञापनको एउटा संवादमा श्रीमतीको भूमिका निभाउँदा एक जना महिलाले वास्तविक सम्झेको उहाँले बताउनुभयो । विज्ञापन संवादको श्रीमानको भूमिका निभाउने पुरुषको श्रीमती भन्नथालेपछि संवादमा भएका कुरा काल्पनिक हो भनेर आफूले सम्झाउनु परेको अनुभव ओझासँग छ ।

पत्रकार महिलालाई समय मिलाउन समस्या हुने गरेको बताएका छन् । डडेल्धुराकी राधा फुलाराले पारिवारिक तथा मिडिया हाउसका कारण कहिलेकहीँ रिपोर्टिङका लागि फिल्डमा जान समस्या हुने गरेको बताउनुभयो । समय नमिल्दा आफूले ल्याउन खोजेको समाचार ल्याउन कठिन हुने गरेको उहाँले बताउनुभयो ।

सहभागीहरूले पारिश्रमिक न्यून रहेको, बिदा नपाउने, समयको तालमेल नमिल्ने तथा स्वतन्त्र भएर रिपोर्टिङ गर्न नमिल्ने जस्ता समस्या भोग्नु परेको पनि बताएका छन् । संवाद सभामा प्रदेशका नौ ओटै जिल्लाका ४० भन्दा बढी पत्रकार महिलाको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...