
फागुन २२, डोटी
बोगटान फुड्सिल गाउँपालिकाको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९⁄८० को सामाजिक परीक्षण कार्यक्रम मङ्गलवार गाउँपालिकाको सभा हलमा सम्पन्न भएको हो । बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल बहादुर गड्सिलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्षहरू, विषयगत शाखा प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरू, उपभोक्ता समितिका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
गाउँपालिकाका विभिन्न शाखाले वर्षभरि सम्पादन गरेका कार्यहरूको आधारमा तयार पारिएको प्रतिवेदनमा सहभागीहरूले छलफल गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत भरत बहादुर चन्दले सामाजिक परीक्षणमा प्रस्तुत गरिएको प्रतिवेदनबाट सिकाइ भएको बताए । कार्यक्रममा भएको छलफलबाट प्राप्त सुझावहरूलाई आत्मसात् गर्दै आगामी दिनमा कार्य योजना बनाउने चन्दले बताए ।

सामाजिक परीक्षण कार्यक्रमबाट कार्यसम्पादन गर्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा जानकारी पाएको गाउँपालिकाका उपाध्यक्ष बिस्ना देवी बमले बताए । गरेका कार्यहरूको सही तरिकाले अभिलेख राख्ने गरिएमा सहज हुने उपाध्यक्ष बमले बताइन् ।
पालिकाले गर्ने कार्यसम्पादन सिस्टममा हुनुपर्ने भएकाले त्यसमा जनप्रतिनिधि र कर्मचारी जिम्मेवार बन्नुपर्ने गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताए । पालिकाले वार्षिक प्रतिवेदन प्रदेश र सङ्घीय सरकारलाई पनि बुझाउनुपर्ने भएकाले कर्मचाारीहरुले त्यही किसिमले तयार गर्नुपर्ने अध्यक्ष गड्सिलाले बताए । अध्यक्ष गड्सिलाले शाखा प्रमुखहरूलाई कार्य प्रगति विवरण मासिक रूपमा राख्न आग्रह गरेका छन् ।
कार्यक्रमको सहजिकरण पत्रकार रामहरि ओझा, डिल बहादुर सिंह र कर्ण चन्दले गरेका हुन् ।
