डोटीमा हाडे ओखरलाई दाँते बनाउन टप ओर्किङ गरिँदै

किरण धामी
१ चैत, डोटी
कृषि ज्ञान केन्द्र डोटीले जिल्लामा पहिलो पटक ओखरमा टप ओर्किङ गरेको छ । हाडे ओखरलाई दाँतेमा परिणत गर्न गरिने यो कार्य परीक्षण स्वरूप ज्ञान केन्द्रले पहिलो पटक गरेको हो । दाँते भनी लगाएका ओखर हाडे निस्किएको किसानहरूले गुनासो गर्नथालेपछि यस्तो कार्यको सुरुवात गरिएको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीले बताउनुभयो ।

परीक्षण स्वरूप ५० वटा टप ओर्किङ गरिएको निमित्त प्रमुख अवस्थीले बताउनु भएको छ । सुख्खा फलफूल विकास केन्द्र सतबाँझ बैतडीबाट प्राविधिक हरिस पाण्डे ल्याएर ज्ञान केन्द्रको टोलीले जिल्लामा ओखरमा टप ओर्किङ गरेको हो । दिपायल सिलगढी नगरपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिकाका विभिन्न ठाउँमा टप ओर्किङ कार्य गरिएको ज्ञान केन्द्रले जनाएको छ । परीक्षण स्वरूप गरिएको टप ओर्किङ सफल भएमा ज्ञान केन्द्रले आफ्नो वार्षिक कार्यक्रममा समेटी जिल्लामा यो कार्य विस्तार गरिने अवस्थीले बताउनु भएको छ ।

टप ओर्किङ गर्दा हाडे ओखरको बोटको माथिल्लो भाग काटेर त्यसको बोक्रामा दाँते ओखरको सानो हाँगा जोडिन्छ । बिरुवाको पालुवा पलाउनु भन्दा अगाडी यस्तो कार्य गरिसक्नु पर्ने कृषि प्राविधिक हरिस पाण्डेले बताउनुभयो । यसरी टप ओर्किङ गरिएको सफल भएमा दुई हप्तासम्ममा जोडिएको हाँगामा पालुवा पलाउने पाण्डेको भनाई छ । टप ओर्किङका लागि हावापानि पनि अनुकुल हुनुपर्ने हुँदा डोटीमा यो कार्य सफल हुने विश्वास पाण्डेको छ ।

यस्तो कार्य गर्न ओखरको बिरुवाको मोटाई दुई हातले समात्न मिल्ने हुनुपर्छ । धेरै मोटाई भएको ओखरमा यो कार्य गर्न सम्भव हुँदैन । ९० एमएम सम्म मोटाई भएको ओखरमा टप ओर्किङ गर्न सकिने कृषि प्राविधिकहरू बताउँछन् । टप ओर्किङ परीक्षण कार्य सफल भएमा थुप्रै किसान लाभान्वित हुने छन् । यस्तो कार्य बैतडी, मुस्ताङ लगायतका जिल्लामा सफल भएको पाइएको छ ।

Sayalb

ओखर किन हाडे बन्छ ?
नेपालमा ओखरको खेती समुन्द्री सतहबाट ९०० मिटर देखी ३५०० मिटर सम्म गर्न सकिन्छ । बिजू ओखरको बिरुवाले ५ देखी ६ वर्ष बाट उत्पादन दिन सुरु गर्दछ भने कलमीले एक–दुई वर्षमै फल दिन सुरु गर्छ । प्रति केजी ६०० देखी ७०० पर्ने ओखरको बोटले सामान्यतया ५०–६० वर्षसम्म फल दिन्छ । लगाएपछि धेरै मिहिनेत गर्नु नपर्ने र बजार मूल्य राम्रो भएका कारण पनि ओखर खेतीप्रति किसानको आकर्षण बढ्दो छ । तर किसानले लगाएका धेरै जसो ओखरका बिरुवा हाडे निस्किने समस्या देखिन गरेको छ ।

कृषि ज्ञान केन्द्र डोटी निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीले बिजू लगाएका प्रायः बिरुवा हाडे निस्किएको बताउनुभएको छ । नर्सरीमा विशेष ख्याल नगरी उमारेका बिजूमा यस्तो समस्या देखिने गरेको अवस्थीको भनाई छ । उहाँका अनुसार बिजूका लागि राखिएको बिरुवामा हाडे ओखरको परागसेसन भएमा हाडे निस्किन्छ । दाँते ओखर र हाँडे ओखर बिच परागसेसन भएमा बिउ हाडेमा परिणत हुन्छ । यसरी बिउका लागि ठिक पारिएका दाँते ओखरको वरपर करिब २–३ किलोमिटर दुरीसम्म हाडे ओखरको बोट हुनु हुँदैन । यसो भएमा दाँते ओखर र हाडे ओखर बिच सम्पर्क हुन सक्दैन ।

कहिलेकाहीँ कलमी बिरुवा पनि हाडे निस्किने समस्या आउन सक्छ । कलमी गर्दा उमारीएको ओखरको बोटको माथिल्लो भाग काटेर फाली सो ठाउँमा दाँते ओखरको भाग ल्याएर जोडिन्छ । कलमी बोटमा जोडिको भाग पलाउनु पर्ने हुन्छ । कहीलेकाँही जोडिएको भाग भाँचिने र जोडिएको भन्दा तलको भागमा पालुवा पलाउने हुन्छ । कलमी गरिएको भाग भन्दा तलको भागमा पालुवा पलाएमा हाडे निस्किने सम्भावना बढी हुन्छ । त्यसैले कलमी गरिएको भन्दा तलको भाग पलाएका पालुवा समयसमयमा काट्नुपर्ने कृषि प्राविधिक बताउँछन् ।

Shaileshwori
Loading...