
चैत २, विराटनगर । विराटनगरमा हत्या गरेर फालिएको अवस्थामा एक नर्सको शव फेला परेको छ । शुक्रवार दिउँसो नोबेल शिक्षण अस्पतालमा कार्यरत २३ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको शव हत्या गरिएको अवस्थामा भेटिएको हो । विराटनगर महानगरपालिका–४ स्थित डेरा बसेको घरमा दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । डेरा बसेको घरको कोठामा हत्या गरेर शौचालयमा फालिएको अवस्थामा शव भेटिएको उनले बताए ।

सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर– ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्थिइन् । उनी डेरा बस्न थालेको ३–४ महिना मात्रै भएको थियो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट छ । उनीमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले बताएको छ । हत्यामा संलग्नको खोजी भइरहेको उनले बताए । उनको हत्यामा प्रेमीको संलग्नता भएको हुनसक्ने प्रहरी स्रोतको दाबी छ ।
