
चैत २, डोटी ।

अखिल नेपाल खेलकुद महासङ्घ डोटीको अध्यक्षमा श्याम सिंह चयन भएका छन् । होटेल घटाल दिपायलमा आयोजना गरिएको भेलाले सिंहको अध्यक्षतामा २७ सदस्सीय समिति सर्वसम्मत चयन गरेको हो । महासङ्घको उपाध्यक्षमा सन्तोष खड्का, सचिवमा सुरज नेपाली, सह सचिवमा कृष्ण साउद र कोषाध्यक्षमा शारदा कुमाल चयन भएका छन् ।
भेलामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य शिव सिंह ओली, अखिल नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम संयोजक ललित खत्री लगायतको उपस्थिति रहेको थियो । भेलामा प्रदेश सभा सदस्य ओलीले भर्खरै सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरीय १४ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा डोटीको नतिजा बारे दुख व्यक्त गरे । नौ ओटा जिल्लामा डोटी अन्तिम भएकाले आगामी दिनमा नतिजा सुधार गर्न सबैले चासो राख्नुपर्ने उनले बताए । खेललाई मनोरञ्जनको रूपमा मात्रै नभएर पहिचानको रूपमा विकास गर्नुपर्नेमा उनको जोड थियो ।
