सिलगढीमा उत्पादित प्याडले बजार नपाउँदा एक वर्षदेखि उत्पादन ठप्प

किरण धामी

चैत २, डोटी
महिला सेनेटरी प्याड उत्पादन फर्म डोटीले उत्पादन गरेका प्याडले बजार नपाउँदा एक वर्षदेखि उत्पादन ठप्प भएको छ । महिलाहरूले सञ्चालनमा ल्याएको जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित फर्मले उत्पादन गरेको सेनेटरी प्याडले बजार नपाएको हो । उत्पादित प्याड बिक्री नहुँदा गत वर्षको फागुन महिनाबाट फर्मले प्याड उत्पादन गर्न नसकेको महिला सेनेटरी प्याड उत्पादन फर्मका अध्यक्ष शारदा भट्टले बताउनुभयो । फर्मले उत्पादन गरेको करिब डेढ लाख मूल्य बराबरको प्याड स्टक रहेको अध्यक्ष भट्टले बताउनुभएको छ । ‘दिपायल, सिलगढी लगायतका यहाँका स्थानीय बजारहरूमा हाम्रो सामान कसैले राख्न मानिरहेका छैनन्, हामी बजारकै खोजीमा छौँ अझै हार मानिसकेका छैनौँ ।’ उहाँले भन्नुभयो ।

Sayalb

अन्यको तुलनामा मूल्य र प्याड सङ्ख्या बढाएर बेच्दा पनि बजार नपाइएको फर्मको गुनासो छ । एउटा पोकामा ८ पिस राखी रु. ५० मा बेच्दा पनि बजारको समस्या भएको अध्यक्ष भट्टको गुनासो छ । बजारमा रु ७० मा पाइने अन्य सेनेटरी प्याडको एक पोकामा मात्र ६ पिस हुन्छन् ।फर्मले डोटीका नौ ओटै स्थानीय सरकार र जिल्लामा क्रियाशील संघसंस्थाहरुसँग बजारको लागि सहयोग माग गरेको पनि बताएको छ । गत मङ्सिरमा आयोजना भएको नवौँ जिल्ला सभामा सहभागी भएका स्थानीय तहका जनप्रतिनिधिसँग सेनेटरी प्याड खरिद गरिदिन आग्रह गरेको फर्मका कोषाध्यक्ष दिपा श्रेष्ठले बताउनुभयो । तर अहिलेसम्म कुनै पनि स्थानीय सरकारले प्याड खरिद नगरेको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई महिनाअघि पुर्विचौकी गाउँपालिकाले ३० हजारको प्याड मगाएको थियो हामीले गाडी रिजर्भ गरेर लग्यौँ तर राख्दैनौँ भनेर फर्काइदियो ।’ स्थानीय उत्पादनलाई प्राथमिकता नदिइएको फर्मको गुनासो छ ।

व्यापार प्रवर्धन केन्द्र काठमाडौँले मेसिन दिएपछि २०७९ मा स्थापना भएको फर्मले दिपायल सिलगढी नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ५ लाख अनुदान दिएपछि प्याड उत्पादन गर्न सुरु गरेको थियो । फर्ममा प्याड उत्पादन हुन छोडेपछि तीन महिला र एक पुरुष गरी चार जनाले पाएको रोजगार समेत गुमाएका छन् ।

Shaileshwori
Loading...