ज्येष्ठ नागरिकसँग वडा अध्यक्ष कार्यक्रम अन्तरगत ६८ जनाको स्वास्थ्य जाँच 

Sayalb
चैत ५, डोटी
ज्येष्ठ नागरिकसँग वडा अध्यक्ष कार्यक्रम अन्तर्गत बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौताराका ६८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गरिएको छ । चैत २ गतेदेखि ५ गतेसम्म वडाका विभिन्न टोलमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ४२ जना महिला र २६ जना पुरुष ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा उपचार गरिएको हो ।
बोगटान फुड्सिल गाउँपालिका–७ को आर्थिक सहयोग तथा चवराचौतारा स्वास्थ्य चौकीको आयोजनामा सञ्चालन भएको शिविरमा डा. संजित कुमार यादव सहितको स्वास्थ्यकर्मीको टोलीले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा उपचार गरेको हो । २ गते ओजेली, ३ गते सुकाटी, ४ गते चनुँकाडा र ५ गते चवराचौतारा स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा स्वास्थ्य जाँचका गर्नुका साथै बिरामीहरूलाई आवश्यक औषधी निःशुल्क दिइएको छ ।
शिविरमा स्वास्थ्य जाँच गरिएकाहरूमा २२ जनामा ढाड तथा नशा सम्बन्धी समस्या, १२ जनामा ग्यास्ट्रिक, ८ जनामा सुगर, तीन जनामा दम र पाँच जनामा प्रेसर सम्बन्धी समस्या देखा परेको चवराचौतारा स्वास्थ्य चौकी प्रमुख प्रकाश विकले बताए । ज्येष्ठ नागरिकको साथमा जनप्रतिनिधि रहेको विश्वास दिलाउन यस्तो कार्यक्रम ल्याइएको वडा अध्यक्ष चन्द्रमान सुनारले बताए । विभिन्न कारण रोग पालेर बसेका वडाका ज्येष्ठ नागरिकको रोग पहिचान गरी उपचारको दायरामा ल्याउन र स्वास्थ्य चौकीसम्म आउन नसक्नेहरूको टोलमै उपचार गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको अध्यक्ष सुनारले बताएका छन् । टोलमै स्वास्थ्य सेवा पाएपछि सेवाग्राही खुसी भएका छन् ।
Shaileshwori
Loading...