चैत ७, डोटी
जिल्ला प्रशासन कार्यालय डोटीले एक वृद्धालाई घरमै नागरिकता उपलब्ध गराएको छ । जिल्लाको सायल गाउँपालिका वडा नम्बर २ सिर्माकी ९० वर्षीया कलसी थापा ओलीलाई घरमै नागरिकता उपलब्ध गराइएको हो ।
कार्यालयका कर्मचारी लाल बहादुर बोगटीलाई वृद्धाको घरमा पठाएर नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताउनुभयो । वृद्ध अवस्थामा रहनुभएकी ओली कार्यालयमा आएर नागरिकता लिन नसक्ने अवस्थालाई हेरी विशेष सुविधा अन्तर्गत जनप्रतिनिधि र स्थानीयहरूको समन्वयमा नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । बुधवार जिल्ला प्रशासन कार्यालयका बोगटीले गाउँपालिकाका उपाध्यक्ष निर्मला ओली, वडा अध्यक्ष मान बहादुर सिंह लगायतको उपस्थितिमा ओलीलाई नागरिकताको प्रमाण पत्र दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयले घरमै नागरिकता दिएपछि वृद्धाका नाति राम बहादुर ओलीले डोटी प्रशासन, जनप्रतिनिधि तथा अभियन्ता लगायतका सहयोगी सबैलाई धन्यवाद दिनुभयो । हजुरआमालाई यसरी घरमै नागरिकता उपलब्ध होला भन्ने आफूहरूको कल्पना विपरीत नागरिकता पाउँदा खुसी लागेको उहाँको भनाई छ ।
स्थानीय बल बहादुर ओली र आफ्नो करिब दुई वर्ष लामो निरन्तरको प्रयासपछि ओलीलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन सफल भइएको सामाजिक अभियन्ता तेज डुम्रेलले बताउनुभयो । उहाँको नागरिकताका लागि जनप्रतिधिहरुसँग आवश्यक समन्वय गरेपछि वडाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले नागरिकता दिएको डुम्रेलले बताउनुभएको छ ।