चैत १९, डोटी
बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर २ केदारअखडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी अन्तरक्रिया गरिएको छ । सोमबार गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा श्रमको सम्मान राष्ट्रको अभियान अन्तर्गत केदारअखडामा अन्तर्क्रिया कार्यक्रम गरिएको हो छ ।
२५ जना महिला र ६ जना पुरुष गरी ३१ जनाको सहभागिता रहेको कार्यक्रममा रोजगार संयोजक गीता जिसीले प्रधानमन्त्री रोजगार कार्यक्रमको बारेमा जानकारी गराइन् । कार्यक्रमको उद्देश्य, लक्ष्य, अवधारणा, लक्षित वर्ग, फर्म दर्ता, योजना सञ्चालन, अनुगमन तथा सरोकारवालाको भूमिकाको बारेमा संयोजक जिसीले सहभागीसामु प्रस्ट पारिन् ।
रोजगार, स्वरोजगार, लघु उद्यम, आयआर्जन, स्थानीय स्तरमा व्यवसायको सम्भावना, समस्या, समाधान जस्ता विषयमा लघु उद्यम विकास सहजकर्ता आशिष कुवरले सहजीकरण गरेका हुन् । कार्यक्रमको व्यवस्थापन कृषि प्राविधिक लोकेन्द्र खड्का र रोजगार सहायक हेम बमले गरेका थिए । यस्तो अन्तरक्रिया कार्यक्रम ७ ओटै वडामा गरिने रोजगार संयोजक जिसीले जानकारी दिइन् ।