कोरोनाका कारण नेपाल फर्किएका बलायर कृषि पेसामा रमाउँदै

किरण धामी
चैत २३, डोटी
डोटीको शिखर नगरपालिकाका ४२ वर्षीय कर्ण बहादुर बलायर २५ वर्ष रोजगारीको सिलसिलामा छिमेकी मुलुक भारत बसे । ४ वर्षको उमेरमै बुवा गुमाएका बलायर कलिलै उमेरमा बिदेसिएका थिए । सानै उमेरमा बुवा गुमाएका उनले पढ्ने इच्छा हुँदाहुँदै कक्षा ८ भन्दा बढी पढ्न सकेनन् । ८ कक्षासम्म पनि आमाले जेनतेन पढाएको उनी बताउँछन् । भारतमा विभिन्न काम गरेका बलायरलाई अहिले विगतको त्यो दुख सम्झिन समेत मन लाग्दैन । त्यहाँ निकै हन्डर खानु परेको उनी बताउँछन् ।

भारतको बसाइँबाट वाक्क दिक्क भएका बलायरलाई विश्व महामारीको रूपमा फैलिएको कोरोनाले स्वदेश फर्काइदियो । कोरोना फैलिदा पहिलो पटक लगडाउन भएका बखत बलायर भारतमै थिए । त्यति बेला झन् बढी दुख भएको उनी बताउँछन् । त्यसपछि आफ्नो मालिकलाई अब भारतमा कहिले नफर्किने बाचा दिएर उनी नेपाल फर्किए । नेपाल फर्किएपछि उनीसामु केही न केही गर्नुपर्ने चुनौती खडा भयो । भारत फर्किन मन थिएन त्यसपछि उनले सागर कृषि तथा पशुपन्छी फर्म दर्ता गरे । फर्म दर्ता गरेपछि सुरुमा उनले बाख्रा पालन गरे । मासुले बजार नपाउँदा बाख्रा पालनले खास्सै उनको दिनचर्या सहज भएन । त्यसपछि बैङ्कबाट सहुलियत दरमा साढे १२ लाख ऋण लिएर उनी  तरकारी खेती पनि गर्न थाले । उनका सुरुका दुई वर्ष सङ्घर्षमयी बने ।

भारत नफर्किने सोच बनाएर नेपाल फर्किएका उनलाई सुरुमा कृषि पेसाले पनि निराश बनायो । ‘भारतमा सेट (मालिक) लाई फर्किँदैन भन्ने जवाफ दिएर आएको थिए, दुई वर्षसम्म यहाँ पनि खास्सै राम्रो हुन सकेन, बैङ्कको किस्ता तिर्न पनि समस्या भयो, उनले भने ।’ बजारको अभाव र कृषि पेसा सम्बन्धी पूर्ण ज्ञान नहुँदा पहिला समस्या भोग्नु परेको उनी बताउँछन् ।

हाल भने उनको दैनिकी व्यस्ततामा बित्छ । बलायर बिहान उठेदेखि साँझसम्म सधैँ काममा व्यस्त हुन्छन् । तरकारी खेती देखी लिएर बाख्रा पालन र मासुको बिक्री गर्न समेत उनले भ्याएका छन् । कृषि पेसाबाट हाल बलायरको परिवार वार्षिक आठ देखी दश लाख आम्दानी गर्दछ । बलायर अहिले यही पेसामा रमाइरहेका छन् । ‘भारतमा छदा स्वतन्त्रता थिएन, अरूले भनेको जस्तै काम गर्नुपर्थ्यो, अहिले भने म स्वतन्त्र छु आज काम गर्दिन भनेर भनेछु भने पनि मलाई कसैले केही भन्ने वाला छैन, उनले भने ।’ यहाँ दिनमा भारतको भन्दा बढी समय खट्नुपर्छ तर स्वतन्त्रता मिलेकोमा उनी खुसी छन् ।

Sayalb

तीन ओटा खोरमा उनले बाख्रा पालेका छन् । केही बाख्रा जिउँदै बेच्छन् भने केही बाख्रा काटेर आफ्नै मासु पसलबाट मासु बेच्छन् । जिउँदै बाख्रा बिक्री नहुने समस्या देखिएपछि मासु पसल खोलेको उनले बताएका छन् ।  उनको मासु पसलमा प्रति किलो रु. नौ सयका दरले खसीको र बाख्राको मासु प्रति केजी रु. छ सयमा बिक्री हुँदै आएको छ ।

उनले एक हैन नगरपालिकाको दुई ठाउँमा तरकारी खेती गरेका छन् । शिखर नगरपालिका वडा नम्बर ११ को सिमार र वडा नम्बर ८ को तिलतालिमा उनले तरकारी खेती गरेका छन् । दुवै ठाउँमा तीन÷तीन ओटा प्लास्टिक घरमा तरकारी खेती हुँदै आएको छ । भने केही खुल्ला जमिनमा पनि तरकारी खेती गरिरहेको बलायरले बताए । उनले बन्दा, काउली, आलु, प्याज, टमाटर, मुला रायो, लसुन, धनियाँ, पालक लगायतका तरकारीहरू उत्पादन गर्दछन् । ‘बलायरले भने, फर्ममा उत्पादित तरकारी साइकलमा लगेर स्थानीय बजार गोपघाट, लुवाखडी, कालागाड, बानेडुग्रीसैनमा बिक्री गर्छु, यहाँ बिक्री नभएको खण्डमा दिपायल पनि लग्ने गरेको छु ।’

उनले मौसमी रूपमा मात्रै तरकारी फलाउँछन् । बेमौसमी तरकारी फलाउने चाहाना भए पनि त्यस्तो वातावरण अहिलेसम्म बनाउन नसकिएको उनले बताए । उनले भने, ‘बेमौसमी तरकारी खेती गर्न सके त राम्रो आम्दानी हुने थियो, बेमौसमी उत्पादनले राम्रो मूल्य पनि पाउँछ तर मैले त्यस्तो प्रविधि जानेको छैन ।’

कृषि पेसामा उनलाई श्रीमती गङ्गादेवी बलायरले राम्रो साथ दिएकी छन् । बलायर भन्छन्, ‘श्रीमतीको साथले यत्तिको काम गर्न सकेको छु मैले भन्दा बढी उनले मेहनते गर्छिन् नत्र भने यति धेरै काम गर्न एक्लैले कहाँ सक्थे होला र ।’ घरमा उनले एउटा भैँसी पनि पालेका छन् । भैँसीको दूध पनि बेच्ने गरेको उनले बताए । दूधले राम्रो बजार पाउने हुँदा अब छिट्टै अर्को भैँसी थप्ने उनको योजना छ । मासिक ३५ हजार पाँच सय बैङ्कको किस्ता तिर्ने देखी लिएर तीन ओटा छोराछोरीलाई पढाउने र ७ सदस्य रहेको परिवारको घर खर्च चलाउन कृषि पेसाबाट सहज भएको बलायरले बताएका छन् । ४ वर्षदेखि कृषि पेसा गरिरहेका बलायर गत वर्ष भिमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मानित भएका थिए । २५ हजार नगद सहित प्रमाणपत्रबाट जिल्ला स्तरीय भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुँदा आत्मबल बढेको उनी बताउँछन् ।

यति हुँदाहुँदै बजारको समस्या रहेको बलायरले बताएका छन् । गत वर्ष बजार नपाउँदा ६० क्वीन्टल बन्दा नष्ट गर्नु परेको उनले बताए । ‘प्रतिकेजी १० रुपैका दरले बिक्री गर्दा पनि बजार पाइएन, पछि हाते ट्याक्टर लगाएर बन्दा बारीमै नष्ट गरे, उनले भने ।’ धेरै टाढा सम्म तरकारी पु¥याउन उनीसँग साधन नभएकाले समस्या भएको छ ।  स्थानीय सरकारले बजारको समस्या समाधान गरिदिए अझ धेरै तरकारी फलाउन सक्ने बलायरले बताएका छन् ।

Shaileshwori
Loading...