
किरण धामी
चैत २८, डोटी
डोटीका ध्रुव बहादुर मलासी नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायलमा काम गर्नुहुन्छ । दिपायल सिलगढी नगरपालिका–२ पन्तोला निवासी ४६ वर्षीय मलासी विद्युत् कार्यालयमा प्राविधिक काम गर्नु हुन्छ । उहाँ दिनको ८ घण्टा समय कार्यालयमा बिताउनुहुन्छ । यस कार्यालयमा उहाँ वि.सं २०६२ देखी प्राविधिक फाँटमा कार्यरत हुनुहुन्छ । मलासीलाई आजभोलि प्राविधिक पेसाले मात्रै चिनिँदैन, किनकि उहाँको पेसा थपिएको छ कृषि ।
आज भन्दा ६ वर्ष पहिला पार्वती तरकारी तथा फलफूल उत्पादन फर्म दर्ता गरेका मलासी कृषि पेसाबाट राम्रो आम्दानी लिन थाल्नुभएको छ । कार्यालयको ८ घण्टा र आउन जान लाग्ने २ घण्टा बाहेकको उहाँको समय कृषि बित्छ । मिहिनेत गर्न उहाँ डराउनु हुन्न, परिश्रम गरे यही सुन फल्छ भन्ने कुरा उहाँलाई राम्रोसँग थाहा छ । उहाँ भन्नु पनि हुन्छ, ‘‘युवाहरू यहाँ परिश्रम गर्न जान्दैनन्, सानो पैसालाई पैसा नै भन्दैनन् ठुलो पैसाको खोजीमा विदेश जान मरिहत्ते गर्छन् म उनीहरूलाई मेरो परिश्रमको फल हेर्न अनुरोध गर्छु ।’’ परिश्रम गरेमा नेपालमै थुप्रै सम्भावना रहेको उहाँले सुनाउँनु हुन्छ ।
मलासी ८ रोपनी जमिनमा विभिन्न तरकारीहरू फलाउनुहुन्छ । मलासीको फर्ममा वर्षभरिमा आलु, बन्दा, काउली, टमाटर, काँक्रा, फर्सी, प्याज, लसुन, सिमी, भिन्टी, खुर्सानी, धनियाँ, पालुङ्गो लगायतका विभिन्न तरकारी फल्छन् । तरकारी बेचेर उहाँको वाषर््ीक रु आठ लाख सम्मको आम्दानी हुने गरेको छ । उहाँले भन्नुभयो, ‘‘मौसम अनुसारको तरकारी फलाउँछु, एकै पटक धेरे तरकारी लगाउँदैन त्यसैले पनि होला फलाएको तरकारी अहिलेसम्म खेर गएको छैन ।’’ बेमौसमी तरकारी खेती गर्न सके बढी आम्दानी लिन सकिने उहाँको भनाई छ ।

तरकारी खेतीमा ध्रुवको भन्दा बढी समय उहाँकी श्रीमती पार्वती देवी मलासी खटिनु हुन्छ । तरकारी लगाउने, मलजल गर्ने, गोडमेल गर्ने जस्ता कार्य पार्वतीले गर्नुहुन्छ । ध्रुव कार्यालय गएका बेला बारीको काम पार्वतीले नै गर्नुहुन्छ । मलासी दम्पतीलाई आमाले पनि उत्तिकै सघाउनु भएको छ । यो दम्पतीले तरकारी खेती गरेरै चार ओटा छोराछोरीलाई पढाइरहेको छ । ‘‘एउटा छोरा काठमाडौँमा अटो मोबाइल इन्जिनियरिङ पढ्छ, छोरी धनगढीमा कम्प्युटर साइन्स पढिरहेकी छ, अनि दुई ओटा छोराछोरी यही बोर्डिङमा पढ्छन्, तलबले मात्रै यत्रो खर्च धान्न सकिँदैन थियो, मलासीले भन्नुभयो ।’’ यति मात्रै होइन तरकारी खेति गर्न विभिन्न बैंक र सहकारीबाट झिकेको रु १८ लाख ऋणको मासिक किस्ता पनि तरकारी बेचेरै तिर्नुहुन्छ ।
मलासीले यो पटक करिब ७० हजारको पालुङ्गो तथा डेढ लाख बराबरको काँक्रा बेच्नुभयो । उहाँले फलाउने तरकारीमा विषादीको प्रयोग भएको हुँदैन । विषादी रहित तरकारी फलाउने र उपभोक्तालाई स्वस्थ तरकारी दिने मलासीको उद्देश्य हो । उहाँले भन्नुभयो, ‘‘अस्ति मात्रै डडेल्धुरामा विषादी प्रयोग गरिएको तरकारी खादा क्यान्सर रोग लागेको भन्ने खबर सुनेको थिए त्यसैले म यो कुरामा सचेत छु, मैले बेचेको तरकारीले उपभोक्ताको स्वास्थ्यमा हानी पु¥याउनु हुँदैन ।’’ तरकारीमा विषाधीको सट्टा गहुँत, रासायनिक मलको सट्टा गँड्यौला मल र गोठे मलको प्रयोग गरिएको छ । उहाँले गँड्यौला मल उत्पादनको लागी टिकापुर कैलालीबाट केही समय पहिला एक लाख ८० हजारका गँड्यौला ल्याउनुभयो । आजभोलि गँड्यौला मल आफै उत्पादन गरिरहनुभएको छ ।
मलासीले तरकारी खेतीलाई थप बिस्तार गर्नुहुने भएको छ । सिँचाइको अभावमा ८ रोपनी जमिनमा मात्रै तरकारी खेती गर्नुभएका मलासीले कृषि ज्ञान केन्द्र डोटीबाट सिँचाइका लागि पोखरी सहयोग पाएपछि थप चार रोपनी जमिन खनजोत गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘‘यो वर्ष ज्ञान केन्द्रका प्रमुख गङ्गादत्त अवस्थिले तरकारी खेतीको अवलोकन पश्चात् २७ हजार लिटर बराबरको पानी ट्याङ्की सहयोग गर्नुभयो, अब सिँचाइको अभाव छैन त्यसैले आठ वर्षदेखि बाँझो रहेको थप ४ रोपनी जमिन जोतेर राखेको छु अबको केही दिनमै त्यहाँ सिम्ला, भिन्टी लगायतका तरकारी रोप्दै छु ।’’
