वायलकी विसूँ

नरबहादुर कार्की
यस क्षेत्रमा नयाँ वर्षलाई विसूँ भनिन्छ । ’विसूँ’को अर्थ विष फाल्ने भन्ने हुन्छ । त्यसैले यस पर्वमा हाम्रो गाउँघरतिर सिस्नु लगाएर विष फाल्ने चलन छ । सँगसँगै यस पर्वमा घर लिपपोत गर्ने, ग्वाले लट्ठी बनाउने, बाघ बिरालो खेल्ने तथा देउडा खेल्ने र रमाइलो मनाउने चलन छ ।
१– सिस्नु लगाउने
बिसूँ सिस्नु लगाउने पर्व मानिन्छ । यस पर्वमा सिस्नु लगाएमा विषालु कितपतङ्गको विष कम लाग्नुका साथै वर्षा याममा खाइने विभिन्न बिसाइला हरिया सागपातको विष नलाग्ने भन्ने भनाई बूढापाखाहरुको रहेको छ । त्यसैले केटाकेटी देखि बूढाबूढीसम्म सबैले अनिवार्य रूपमा सिस्नु लगाइहाल्नु पर्ने परम्परा रहिआएको छ । देवर भाउजूका बिचमा त सिस्नु लगाउने प्रतिस्पर्धा नै हुने गर्छ ।
२– घर लिपपोत गर्ने 
विसूँ पर्वको अवसरमा घरलाई सुन्दर ढङ्गले लिपपोत गर्ने चलन छ । बाहिरी घर रातो र सेतो माटोको दुई घेरा बनाई सुन्दर ढङ्गले लिपपोत गरी चम्काउने गरिन्छ । घर पोत्नका लागि सेतो माटो लेकतिर बाट र रातो माटो राजपुरबाट ल्याउने चलन रहको छ । त्यसैले ’राजपुरको रातो माटो, सिँदुर जतिको’ भन्ने गरिन्छ ।
ग) ग्वाले लट्ठी बनाउने
यस दिन ग्वालाहरूले जङ्गलबाट घङारु अथवा गोल दाडिमको लट्ठी काटेर ल्याउने, आँगामा पिरोल्ने, रङ्ग लगाउने र ग्वाले लट्ठी बनाउने चलन छ । यस लट्ठीलाई वर्षभरि ग्वालो वा गोठालो जाँदा प्रयोग गर्ने र ग्वाले देवताको रूपमा समेत लट्ठीको पूजा गर्ने प्रचलन छ । यो लट्ठीको पूजा गरेमा बाघ ब्वाँसो पिडाउदैन भन्ने मान्यता छ । यस क्षेत्रका देवीका शक्ति पीठहरूमा दसैँ तिहारको समयमा राँगाको बली चढाइने कारण त्यस समयमा समेत विसूँको दिन बनाएको लट्ठी प्रयोग गर्ने प्रचलन छ । प्राचीन कालदेखि लट्ठीलाई मान्छेले दुस्मनबाट बच्ने सहाराको रूपमा प्रयोग गर्दै आएकोले लट्ठीको ठुलो महत्त्व रहेको भन्ने भनाइ बूढा पाखाको छ ।
bhukampa
घ) बाघ बिरालो खेल्ने
यस पर्वमा ग्वालाहरू बाघ बिरालो खेल खेल्दै रमाइलो गर्ने गर्छन् । बाग बिरालो खेल खेल्दा बाघ बिराली नपिडाउने तथा बाघ दुःख नदिने मान्यता रहिआएको छ । तत्कालीन समयमा घना जङ्गलका कारण हरेक वर्ष बाघले पशुहरू खाएर ठुलो क्षति पुर्याउथ्यो । त्यसैले त्यस्तो नहोस् भन्नका लागि समेत बाघ बिरालो खेल लेखिन्छ भन्ने भनाइ बुढापाकाहरूको छ ।
ङ) देउडा खेल्ने
यस क्षेत्रमा विसूँका दिनभरि देउडा खेल्ने प्रचलन पनि रहेको छ । महिला र पुरुषहरूका छट्टुाछट्टै देउडा लाग्ने र सवाल जवाफ हुने गर्दछ । के.आई.सिंह गाउँपालिकाको वडा नं.४, खड्कावडामा वैशाख २ गते भव्यताका साथ विसूँ पर्व मनाउने गरिन्छ । टाढा टाढाका देउडेहरुको सहभागितामा देउडा खेली विसूँ पर्व मनाइन्छ ।
यसका साथै यस पर्वमा डुब्काभात, माणा, भक्के रोटी, लाउन, बाबर लगायत मिठा परिकारहरू पकाएर खाने गरिन्छ । दही चामल भिजाएर खाने चलन छ । हाल संरक्षणको अभावमा विसूँका केही परम्पराहरू हराउँदै गएका छन् ।
सम्पूर्ण महानुभावहरूलाई विसूँ पर्व २०८१ को हार्दिक मङ्गलमय शुभकामना !
लेखक कार्की झिमेमालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । 
Shaileshwori
Loading...