सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता भएको चिस्यान केन्द्र ‘कोल्डस्टोर’ ऋणको बोझले बन्द हुने अवस्थामा पुगेको छ। कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त चिस्यान केन्द्र बैंकको ऋण तिर्न नसक्दा लिलामी हुने अवस्थामा छ। किसानको आवश्यकतालाई मध्यनजर गर्दै कैलालीको घोडाघोडी नगरपालिका–१० मा २०७७ फागुनमा तीन हजार मेट्रिक टन क्षमता भएको प्रदेशकै सबैभन्दा ठूलो चिस्यानकेन्द्र स्थापना गरिएको थियो।
रिज्म परियोजनाको एक करोड ९० लाख आर्थिक सहयोगमा निर्माण कार्य सुरु गरी सञ्चालनमा ल्याइएको चिस्यान केन्द्र २० करोड बढी लगानीमा तयार गरिएको हो। अहिले आफ्नै ऋणसमेत तिर्न नसक्दा उक्त चिस्यान केन्द्र बन्द हुने अवस्थामा पुगेको छ।
चिस्यान केन्द्रलाई २० करोड बढी ऋण रहेको सञ्चालक समितिका अध्यक्ष रामबहादुर रावतले बताए। ‘बैंकमा मात्रै १६ करोड ४४ लाख ऋण छ। अन्य सहकारी, विद्यालय, सामुदायिक वनलगायतमा गरी २० करोड बढी पुुग्छ’, उसनले भने, ‘सरकारले अनुदान पनि दिएन, अहिलेसम्म किसानकै पैसाबाट चिस्यान केन्द्र चलिरहेको छ।’
रावतका अनुुसार सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा दुई पटकसम्म रातो किताबमा चिस्यान केन्द्रका लागि भन्दै नौ करोड ९० लाख राखेको थियो। चिस्यान केन्द्र सुरु भएकै वर्ष यहाँ तीन हजार चार सय ५३ किसानले आफ्नो उत्पादन राखेका थिए। अहिले छ हजार बढी किसानले उत्पादन गरेका वस्तु राखेका छन्।
कैलाली, कञ्चनपुरसहित डडेल्धुराको गन्यापधुरा गाउँपालिका, पर्शुराम नगरपालिका र रुपन्देहीको शुद्धोदन गाउँपालिकासम्मका किसान यस चिस्यान केन्द्रबाट लाभान्वित छन्।
दिनेश खबरबाट