चीनसँग जोडिएका नेपालका १४ नाका खोल्ने तयारी

नेपाल र चीनबीचका १४ परम्परागत नाका खोल्ने तयारी भएको छ । यसअनुसार पहिलो चरणमा सात नाका खोल्ने गरी गृहकार्य भएको छ । तर, यसका लागि चीनले राखेको नयाँ प्रस्तावमा सहमति हुन बाँकी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा र पछिल्लोपटक उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नौदिने भ्रमणका वेला चीनले प्रतिबद्धता जनाएअनुसार यी नाका खोल्न थालिएको हो । गोरखाका दुई परम्परागत नाकासहित डोल्पा, मुगु, दोलखा, ताप्लेजुङ र बझाङका सात नाका खोल्न चीन सहमत भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटाका अनुसार उच्चस्तरीय समझदारीका आधारमा परम्परागत नाका खुलाउने प्रक्रियामा नेपाल र चीनको तयारी भइरहेको छ । ‘तातोपानी, रसुवागढी, हिल्सा र कोरलाबाहेक सात नाका सञ्चालनमा ल्याउन तयार छौँ भनेर चीनबाट पत्र आएको छ,’ सापकोटाले भने, ‘नाकाहरू सञ्चालनको प्रक्रियामा छन् ।’

परराष्ट्र मन्त्रालयले नाका खोल्न छलफल भइरहेको बताएको छ । ‘पहिलो चरणमा सात नाका खोल्ने विषयमा कूटनीतिक च्यानलमा चीनसँग छलफल भइरहेको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नयाँ पत्रिकासँग भने, ‘यसका लागि चीनले राखेका केही विषयमा छलफल भइरहेको छ । एक–दुई चरणको छलफलपछि त्यो टुंगिन्छ र नाका खुल्छ भन्ने विश्वासमा हामी छौँ ।’

Sayalb

कूटनीतिक स्रोतका अनुसार चीनले तिब्बत आवत–जावत गर्ने नेपालीको डिजिटल परिचयपत्र जारी गर्न र भ्रमण गर्ने व्यक्तिको विवरण पहिले नै जिल्ला प्रशासन कार्यालयमार्फत चीन पक्षलाई उपलब्ध गराउन आग्रह गरेको छ । तर, नेपालले भने जिल्ला प्रशासन कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा नेपालीलाई सहज आवतजावतका लागि सहजीकरण गर्न आग्रह गरेको छ ।

‘हाम्रा जिल्ला प्रशासन कार्यालयहरूले प्रवेश पास जारी गरिसकेका छन् । त्यही पासका आधारमा नेपालीलाई आवतजावत गर्न दिनु भनेका छौँ । कोभिडअघिको जस्तै सहजताका लागि आग्रह गरेका छौँ,’ एक उच्च कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘अर्कोपटकदेखि डिजिटल पास जारी गर्छौँ भनेका छौँ । तर, तिब्बततर्फ जाने नेपालीको विवरण पहिले नै दिने कुरा व्यावहारिक हुँदैन भनेका छौँ ।’

चिनियाँ पक्षले पास लिएकामध्ये तिब्बततर्फ जाने व्यक्तिको विवरण पठाउनु भन्ने आग्रहमा सहमत हुन नसकिने नेपाली पक्षले स्पष्ट पारेको छ । ‘चीनले पूर्वसर्तका रूपमा त होइन, तर यसो गरौँ भनेर प्रस्ताव पठाएको छ । यसलाई छलफलबाट टुंग्याउन सकिन्छ भन्ने छ,’ सम्बद्ध अधिकारीले भने, ‘चीनले सात नाकाको नेपालतिरको पूर्वाधारको अवस्थाबारे पनि नेपाललाई सोधेको छ र चिनियाँ सहयोग आवश्यक परेमा जानकारी दिन आग्रह गरेको छ ।’

दोस्रो चरणमा संखुवासभा, दोलखाको अर्को नाका, मुस्ताङ, मनाङ, हुम्ला र दार्चुलामा रहेका नाका खोल्ने चीनको तयारी छ । हाल सिन्धुपाल्चोकको तातोपानीबाट तिब्बतको जाङ्मु जोड्ने नाका, रसुवाको रसुवागढीबाट तिब्बतको केरुङ जोड्ने नाका र हुम्लाको हिल्साबाट पुराङ काउन्टी जोड्ने नेपाल–चीन नाका सञ्चालनमा छन् । यी तीन अन्तर्राष्ट्रिय नाका हुन् ।

अब खुल्न लागेका नाका द्विपक्षीय व्यापारिक नाका हुन् । सीमावर्ती जिल्लाका एक–अर्का बासिन्दालाई आवतजावतमा सहज बनाउन र स्थानीय हाटबजारका लागि सहजीकरण गर्न यी नाका सञ्चालनमा आउन लागेका हुन् । कोरोनाको महामारीपछि यी नाका चीनले पूर्णतः बन्द गरेको थियो । अब खुल्न लागेका १४ परम्परागत नाकामध्ये दोलखा, गोर्खा र डोल्पाका दुई–दुई नाका छन् ।

Shaileshwori
Loading...