
जेठ ३, डोटी
बोगटान फुड्सिल गाउँपालिका–७ चवरा चौतारामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बिहिवार निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर धनगढीको आर्थिक सहयोग तथा बोगटान फुड्सिल गाउँपालिका र ७ नम्बर वडा कार्यालयको सहयोगमा चवरा चौतारा स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको हो ।

शिविरमा सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत वरिष्ठ नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर प्रदीप मिश्रले सेवाग्राहीको स्वास्थ्य चेकजाँच गरेका छन् । बाल रोग विशेषज्ञ डाक्टर मिश्रले सेवा दिएको शिविरबाट एक सय ९४ जना बालबालिकाले सेवा लिएको चवरा चौतारा स्वास्थ्य चौकीका इन्चार्ज प्रकाश विकले जनकारी दिए । शिविरबाट बालबालिकामा कुपोषण, निमोनिया, दम, ग्याष्टीक, मानसिक समस्या, जन्मजात विकलाङ्ग लगायतका समस्या देखा परेको स्वास्थ्य चौकी प्रमुख विकले बताए ।
शिविरमा बिरामीलाई निःशुल्क औषधी पनि वितरण गरिएको छ । चवरा चौतारा डाक्टर मिश्रको पुर्ख्यौली ठाउँ हो । पुर्ख्यौली ठाउँका बालबालिकाको स्वास्थ्य चेकजाँच गर्न पाएकोमा डाक्टर मिश्रले खुसी व्यक्त गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले निःशुल्क शिविरको आयोजना गरी सहयोग गरेकोमा डाक्टर मिश्र र निसर्ग अस्पताललाई धन्यवाद दिएका छन् ।
