
जेठ ०५, डोटी
आदर्श गाउँपालिकामा मदिरा निषेध गरिएको समयमा उठेको राजश्व हिनामिना भएको गाउँपालिकालाई आरोप लगाइएको छ । आदर्श गाउँपालिकाले २०७९ जेठ ११ गते मदिरा निषेध पालिका घोषणा गरेको थियो तर गाउँपालिकाको निर्णयलाई उच्च अदालत दिपायलले २०८१ वैशाख ६ गते खारेज गरेको छ ।
मदिराका कारण पालिकाका स्थानीयहरूले आर्थिक समस्या भोग्नु परेको, महिला हिंसा बढ्नुका साथै वातावरण प्रदूषण भएको भन्दै पालिकाले मदिरा निषेध गरेको थियो । यता गाउँपालिकाले कानुन विपरीत मदिरा निषेध गरेको भन्दै मदिरा व्यापारीहरू गोपाल बहादुर बोहरा, नवराज ओझा र इन्द्र बहादुर खड्काले पालिकाको उक्त निर्णयको खारेजीको माग गर्दै आदर्श गाउँपालिका, कार्यपालिका, गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रशासन कार्यालय डोटी र जिल्ला प्रहरी कार्यालय डोटीलाई विपक्षी बनाई अदालतमा रिट निवेदन दिएका थिए । अदालतले सोही रिटको फैसला गर्दै गाउँपालिकाको निर्णय खारेज गरेको हो ।
गाउँपालिकाको निर्णय खारेज भएपछि मदिरा निषेध भएको करिब २ वर्षको अवधिमा जरिवाना, बरामद मदिराहरूको लिलामीबाट राजस्व बापत उठेको रकम हिनामिना भएको व्यापारीहरूले आरोप लगाएका छन् । उनीहरूले गाउँपालिकाले रकम हिनामिना गरेको भन्दै त्यसको सही लेखाजोखा हुनु पर्ने बताएका छन् ।

मदिरा निषेधको समयमा रु २९ लाख २२ हजार ८ सय जरिवाना र बरामद गरिएका मदिराको मूल्य हुन आउने व्यापारीले बताएका छन् तर आदर्श गाउँपालिकाले रु १६ लाख ६४ हजार ४ सय ५० मात्रको हिसाब देखाएको र रु १२ लाख ५८ हजार ३ सय ५० रुपैयाँमा अनियमितता भएको आरोप लगाएका छन् ।
त्यो अवधिमा सङ्कलन भएको रकम पारदर्शी रूपमा पालिकाले सम्बन्धित व्यापारीहरूलाई उपलब्ध गराएको र पालिकाले एक पैसा पनि अनियमितता नगरेको गाउँपालिका अध्यक्ष गणेश बहादुर खड्काले बताए ।
पालिकाले मदिरा निषेध गरे सँगै मदिरा बिक्री वितरण इजाजत पत्र लिई कारोबार गरिरहेका व्यापारीहरूले २ वर्षको अवधिमा ठुलो क्षति व्यहोर्नुपरेको भन्दै त्यसको क्षतिपूर्ति पनि पालिकाले दिनु पर्ने व्यापारी इन्द्र खडकाले बताए ।
त्यसै गरी उक्त अवधिमा इलाका प्रहरी कार्यालय आदर्शले मदिरा निषेधका नाउमा बिना जानकारी घर खानतलासी गर्ने गरेको, बिना रसिद व्यापारीहरुसंग पैसा असुल्ने गरेको आरोप पनि लगाएका छन् ।
यस विषयमा इलाका प्रहरी कार्यालय आदर्शका इन्चार्ज जनक बोहरा सँग बुझ्दा इलाका प्रहरी कार्यालय आदर्शले बिना जानकारी कसैको घरमा खानतलासी नगरेको भन्दै पैसा असुलिको हकमा कसैले पनि प्रमाण सहित कुन प्रहरीले, कहिले को व्यक्ती सँग पैसा मागेको हो भन्ने आधार सहित आएमा आफू कारबाही गर्न तयार रहेको बताए । साथै आफूलाई असुरक्षित महसुस भएमा जिल्ला प्रहरी कार्यालय र अन्य निकायमा उजुरी दिन सकिने इलाका प्रहरी निरीक्षक बोहराले बताए ।
